सिद्धार्थ बैंकले ब्याजअनुदानसहितको सहुलियतपूर्ण कर्जा दिन थाल्यो |
काठमाडौं । सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनअनुरुप ब्याज अनुदानसहितको सहुलियतपूर्ण कर्जा प्रदान गर्ने भएको छ । बैंकले त्यस्तो कर्जा लिन चाहने व्यक्तिले कर्जाको प्रकृतिअनुसार व्यावसायिक योजना वा प्रमाणपत्रसहित बैंकले तोकेको ढाँचाको निवेदन सिद्धार्थ बैंकका नजिकका शाखाहरूमा पेश गरे मापदण्ड पूरा गरेका आवेदकले कर्जा पाउन सक्ने बताएको छ ।
बैंकले कर्जाको मागको प्रकृतिअनुसार व्यावसायिक योजना हेरर आवेदन गरिएको रकमको हदसम्म कर्जा स्वीकृत गर्न सक्नेछ । व्यावसायिक योजनाअनुसार कर्जा एकमुष्ट वा किस्ताबन्दीमा प्रदान गर्न सकिनेछ । नेपाल सरकारले उक्त कर्जाको धितो तथा कर्जा सुरक्षण कोषमा अनिवार्य रूपमा बीमा गर्नुपर्ने प्रावधान राखेको छ ।
बैंकले हालसम्म देशभर रहेका १३९ वटा शाखा, ९३ एक्सटेन्सन् काउण्टरसहित, ९९ शाखारहित बैंकिङ तथा १५० वटा एटीएमहरूमार्फत ६ लाख २२ हजारभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा पुर्याउँदै आइरहेको छ । चालू आवको माघ मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड रहेको छ भने बैंकले १०८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १०० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।



