हालसम्मको उपलब्धिलाई संस्थागत गर्दै समयसापेक्ष सेवा दिन बीमा संस्थानलाई आग्रह |
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले हिजो शनिवार ५२औं वर्षगाँठ मनाएको छ । ५१ वर्ष पूरा गरेर ५२औं वर्षमा प्रवेश गरेको यस संस्थानले आयोजना गरेको विशेष कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका हुन् ।
सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले पछिल्लो नेपालमा बीमा क्षेत्र प्रतिस्पर्धी बन्दै गइरहेको अवस्थामा संस्थानले हालसम्मको उपलब्धिलाई संस्थागत गर्दै समयसापेक्ष सेवा दिन आग्रह गरे । उनले संस्थानलाई प्रतिस्पर्धी बजारमा समयसापेक्ष योजनाहरू ल्याई देशका ग्रामीण क्षेत्रसम्म बीमाको पहुँच पुर्याउन सुझाव दिए ।
अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले संस्थानले अब स्तरीय र दिगो खालको सेवा प्रवाह गर्नुपर्ने सुझाव दिए ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बीमा संस्थान पूर्ण सरकारी स्वामित्वको भएकाले पनि दुर्गम क्षेत्रका जनतालाई पनि बीमाको पहुँचमा समेट्ने किसिमका योजना ल्याउनुपर्नेमा जोड दिए । उनले संस्थानमा कर्मचारी व्यवस्थापनदेखि दक्षता वृद्धि, सूचना प्रविधिको भरपूर उपयोग र लेखा प्रणाली अध्यावधिक गराउँदै पारदर्शी बनाउनुपर्ने बताए ।
संस्थानका प्रशासक कविप्रसाद पाठकले ५२औं वर्षगाँठ मनाइरहँदा संस्थानले चालू आवको पुस मसान्तसम्ममा रू. १९ अर्ब २१ करोड जीवन बीमा कोषमा संकलन गर्न सफल भएको जानकारी दिए । उनका अनुसार चालू आवको पहिलो ६ महिनामा रू. ४ अर्ब ४१ करोड बीमा शुल्क संकलन भएको छ भने सोही अवधिमा १ अर्ब ५१ करोड दाबी भुक्तानी पनि संस्थानले गरेको छ ।
प्रशासक पाठकले संस्थानको अधिकृत पूँजी रू. ५० करोड र चुक्तापूँजी रू. १८ करोड १० लाख २० हजार रहेको जानकारी दिए । त्यस्तै, संस्थानमा व्यक्तिगत जीवन बीमातर्फ २ लाख ९८ हजारले बीमा गरेको र यस वर्ष मात्रै झण्डै ३ लाख राष्ट्रसेवक कर्मचारीहरूको सावधिक जीवन बीमा गरिएको उनले बताए । उनले अन्य ठूला बैंक तथा सार्वजनिक संस्थानका कर्मचारीहरूको बीमासमेत संस्थानले गर्दै आएको जानकारी दिए ।
संस्थानले माथिल्लो तामाकोशी जलविद्युत आयोजना, विद्युत् उत्पादन कम्पनीमा समेत लगानी गर्दै आएको छ । सो अवसरमा संस्थानमा उत्कृष्ट काम गर्ने तीन जना अभिकर्तालाई सम्मान पनि गरियो ।
२०२४ साल पौष १ गते नेपाल सरकारको स्वामित्वमा राष्ट्रिय बीमा संस्थान (प्रा.) लि. स्थापना भई यसले सोही वर्षको फागुन ११ गतेदेखि व्यावसायिक कारोबार शुरू गरेको थियो ।



