‘महिन्द्रा उदय’ मा दर्शकहरूको भीड, उद्घाटनकै दिन ६ वटा नयाँ उत्पादन सार्वजनिक |

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा हिजो शुक्रवारदेखि सञ्चालन भएको भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राको बृहत् एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’ मा आज शनिवार पनि हजारौं अवलोकनकर्ताहरूको भीड लागेको छ । नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष भवानी राणाले उद्घाटन गरेको उक्त प्रदर्शनी नेपालमै पहिलो पटक आयोजना भएको हो ।
उक्त प्रदर्शनीमा महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर र महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले संयुक्त रूपमा आयोजना गरेको उक्त लाइफस्टाइल एण्ड अटो शोमा नेपाली बजारमा विक्रीवितरण हुँदै आएका महिन्द्रा कम्पनीका विभिन्न ३० भन्दा बढी मोडलका उत्पादनहरू राखिएका छन् ।
छवटा नयाँ उत्पादन सार्वजनिक
कार्यक्रमको उद्घाटनकै दिन हिजो शुक्रवार महिन्द्राले ६ वटा नयाँ गाडीहरू नेपाली बजारमा सार्वजनिक गर्यो । कम्पनीले महिन्द्राको बहुप्रतीक्षित एसयूभी एक्सयूभी ३००, नयाँ एमपीभी मराजो, महिन्द्राको नयाँ ट्रयाक्टर जीभो २४५ र यूभो ४१५ तथा मन्द्रिाका हेवी कमर्शियल भेहिकलहरू फ्युरियो तथा ब्लेजो २५ ट्रक साथै नयाँ ग्रेडर जी ७५ पनि सार्वजनिक गरेको हो ।
महिन्द्राका उत्पादनहरू नेपाली बजारमा आजभन्दा करिब २७ वर्ष अगाडिदेखि विक्री वितरण हुँदै आइरहेको छ ।
आकर्षक डिजाइन, उत्कृष्ट पर्फमेन्स र विशेषताका एसयूभी निर्माणका लागि चर्चित कम्पनीले आफ्ना सबै उत्पादनलाई उक्त मेलामा राख्ने छ । एसयूभी, इलेक्ट्रिक सवारी, दुईपांग्र्रे सवारी, हेभी इक्वीपमेन्ट, कृषिमा प्रयोग हुने उपकरण, कमर्शियल प्रयोगमा आउने सवारीसाधनका साथै महिन्द्राका सबै उत्पादनलाई प्रदर्शनीमा देख्न सकिनेछ ।
प्रदर्शनीमा अटो शोका साथै विभिन्न कलाकारहरूको लाइभ पर्पmर्मेन्सको आनन्द लिनुका साथै विभिन्न स्वादका खानाहरूको पनि मजा लिन सकिनेछ ।