प्रधानमन्त्री रोजगार कार्यक्रम बेरोजगारहरूलाई कामै नगरी भत्ता बाँड्ने कार्यक्रम होइन : मन्त्री विष्ट |
काठमाडौं । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले मरुभूमिलाई हरियो बनाउने पौरखी नेपाली हातहरूले आफ्नो देशलाई समृद्ध बनाउने काममा प्रधानमन्त्री रोजगार कार्यक्रम कोसेढुङ्गा सावित हुने बताएका छन् । उनले यो कार्यक्रम बेरोजगारहरुलाई काम नै नगरी भत्ता बाँड्ने कार्यक्रम नभएको भन्दै यस कार्यक्रमले न्यूनतम रोजगारको सुनिश्चित गर्ने दाबी गरे ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आज बुधवार सम्बोधन गर्दै मन्त्री विष्टले यो कार्यक्रमले कामलाई सम्मान गर्ने मान्यतालाई स्थापित गर्ने बताए । यो कार्यक्रमले युवाहरूलाई स्वदेशमै गरिखाने प्रशस्त अवसर प्रदान गर्ने र काम कुनै ठूलो र कुनै सानो नहुने मान्यता स्थापित गर्ने उनको भनाइ थियो ।
५८ प्रतिशत युवाशक्ति रहेको देशमा अधिकांश युवाहरू विदेशिन परेको भन्दै श्रमशक्तिको अभावमा कैयौं खेत बाँझो रहेको, उद्योगहरू नचलिरहेको भन्दै अर्थतन्त्र रेमिट्यान्समा आधारित र आयातमुखी बनेको उनको कथन थियो ।
श्रम गर्ने सधैं तल पर्ने र श्रम नगरी धनी हुनेहरू समाजमा सम्मानित जीवन बिताएको भन्दै यसले नै देश समस्यामा रहेको मन्त्री विष्टले बताए । यो कार्यक्रमले बजारमा उपलब्ध रोजगारका क्षेत्रलाई अझ व्यवस्थित गर्ने दाबी पनि उनको थियो ।
मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम कुनै भेदभावबिना नै सञ्चालन हुने बताउँदै चैत १ गतेदेखि सबै स्थानीय तहमा बेरोजगार तथा रोजगारका अवसरको दर्ता शुरू गरिने जानकारी दिए ।



