एयरपोर्ट भन्सार २ करोडको जफत सामग्री लिलाम गर्दै, म्याद फागुन ६ गतेसम्म | लिलामीमा साढे ६१ लाखको रक्सीदेखि ७ लाखबराबरका कुर्तासुरुवालसम्म
काठमाडौं । त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयले विमानस्थलमा जफत गरिएका मदिरा, ईएफटी पीओएस टर्मिनल, आइफोन, चुरोटलगायत कुल २ करोड १२ लाख रुपैयाँ आधार मूल्य तोकेर विभिन्न सामग्रीहरू लिलामीमा राखेको छ । त्यसमध्ये विभिन्न ब्राण्डका ६१ लाख ६१ हजार ५ सय ५८ रुपैयाँ मूल्य तोकिएका २ हजार ९ सय १७ बोतल रक्सी मात्र रहेको भन्सार कार्यालयले जानकारी दिएको छ ।
कार्यालयले लिलामीमा राखिएका सबै सामग्रीहरू जसले बढी मूल्य हाल्यो, उसैले लैजान पाउने गरी लिलामीमा राखेको बताएको छ । भन्सार कार्यालयले जफत गरिएका मदिराको ब्राण्ड भने खुलाएको छैन ।
विदेशबाट घर फर्किंदा नेपालीले नै ल्याएका तथा नेपाल घुम्न आउँदा विदेशीले अवैध तरिकाले ल्याउँदा जफत गरिएका विभिन्न सामग्रीहरू भन्सार कार्यालयले लिलामीमा राखेको हो ।
कार्यालयका अनुसार इच्छुकहरूले आगामी फागुन ६ गतेसम्म मदिरा बोलकबोलमार्फत उठाउन सक्नेछन् । लिलामीमा राखिएका अन्य सामग्रीहरूमा यार्सागुम्बा, ट्रेकिङ जुत्ता, मोटर ट्रान्सफरमर, कुर्तासुरुवाल, ड्रोन क्यामेरा, लिथिनियम ब्याट्री, स्मार्ट वाच, कार्बनको मोबाइल, मार्लबोरो चुरोटलगायत रहेको कार्यालयले बताएको छ ।
कार्यालयले मदिराको लिलामी सातवटा लटमा गर्ने गरी बोलपत्र निष्कासन गरेको छ । पहिलो लटमा १७५ बोतल मदिराको आधार मूल्य ३ लाख १६ हजार ३ सय २५ रुपैयाँ कायम गरिएको छ । दोस्रो लटको २ सय ६६ बोतलका लागि ५ लाख ६१ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यसैगरी, तेस्रो लटको ३ सय १७ बोतलका लागि ६ लाख ६३ हजार ७ सय ८० रुपैयाँ आधार मूल्य कायम गरिएको छ ।
चौथो लटको ४ सय ६९ बोतलका लागि १० लाख ६५ हजार ४ सय २५ रुपैयाँ, पाँचौं लटको ५ सय ८४ बोतलका लागि १२ लाख ७३ हजार ६ सय ७८ रुपैयाँ आधार मूल्य तय गरिएको छ । त्यस्तै, छैटौं लटको ८ सय ४१ बोतलका लागि १८ लाख ६२ हजार १ सय ७५ रुपैयाँ मूल्य तोकिएको छ । अन्तिम लट २ सय ६५ बोतलका लागि ४ लाख १८ हजार ६ सय ७५ रुपैयाँ आधार मूल्य तोकिएको छ ।
त्यसैगरी कार्यालयले आइफोन सिक्स र आइफोन सिक्स प्लस २६ थानको मूल्य ६ लाख २४ हजार रुपैयाँ आधार मूल्य तय गरेको छ । ७ सय २६ ग्राम यार्सागुम्बाको मूल्य ८ लाख रुपैयाँ तय गरिएको छ । यसैगरी, १४ सय ४० जोर ट्रेकिङ जुत्ताको मूल्य पाँच लाख रुपैयाँ तोकिएको छ । मोटर ट्रान्सफरमर तीन सेटको मूल्य ८ लाख रुपैयाँ र भरेको कुर्तासुरुवाल ९ आइटमको आधार मूल्य ६ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ ।
ईएफटी पीओएस टर्मिनल ५०० थानको मूल्य ७२ लाख रुपैयाँ तोकिएको छ । तीन थान फ्यानटम फोर एडभान्स ड्रोन क्यामेरा, ३६० थान लिथिनियम ब्याट्री, १५ सय ८३ स्मार्ट वाच, कार्बन जम्बो के९ मोबाइल १९ सय ८० थान, कार्बन के ८५५ मोबाइल ४०० थान र मार्लबोरो १७ हजार डब्बा चुरोको मूल्य एकमुस्ट ४५ लाख रुपैयाँ तोकिएको छ भने क्रिकेट ह्याण्डब्याक १५० थानको मूल्य १० हजार रुपैयाँ तोकिएको छ ।
Visited 2 times, 1 visit(s) today


