रामेछापमा ७ लाख पुरस्कार राशीको सिभिल भलिबल च्याम्पियनसिप हुने |
काठमाडौं । रामेछाप जिल्ला खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरी सिभिल भलिवल च्याम्पियनसिपको चौथो संस्करण यही मंगलबारबाट शुरु हुने जानकारी दिएको हो । भलिवल च्याम्पियनसिपको पुरस्कार राशी सात लाख रुपैयाँको हुनेछ ।
आगामी मंगलबारदेखि शनिबारसम्म रामेछाप सदरमुकाम मन्थलीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानककारी दिएका छन् । रामेछाप जिल्ला खेलकुद विकास समितीका अध्यक्ष पुरुषोत्तम कडेरियाले भने, ‘प्रतियोगितामा सहभागी हुने टोलीदेखि प्रतियोगिता सञ्चालन गर्ने प्राबिधिक र आवश्यक खेल मैदान सबैको तयारी भइसकेको छ ।’
प्रतियोगितामा सात प्रदेश र अन्य पाँच टोली गरी १२ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सात प्रदेश बाहेक शान्तिदीप युवा क्लब, मन्थली युनाइटेड युवा समाज, लोकतान्त्रिक खेलकुद संघ, नमुनादीप युवा क्लब र प्याराडाइज युथ क्लबको सहभागिता रहने छ ।
जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको पुरस्कारमै सात लाख २५ हजार खर्च हुने छ । जसमध्ये प्रतियोगिताको प्रथम हुने टोलीले तीन लाख, दोस्रो हुने टोलीले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो हुने टोलीले ५० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट घोषित हुने एक खेलाडीले १५ हजार र बिधागततर्फ उत्कृष्ट ठहरीने सर्भर, स्पाइकर, ब्लकर, रक्षक, सेटर र प्रशिक्षकले पनि जनही १० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा बिभागीय टोलीले सहभागिता जनाउन पाउने छैन, बिभागीय टोलीका खेलाडीले अन्य टोलीबाट भने खेल्न पाउने छन् । यद्यपि, एउटा टोलीमा बिभागीय टोलीबाट तीनजना भन्दा बढी खेलाडीले खेल्न पाउने छैन ।
आयोजक रामेछाप जिल्ला खेलकुद विकास समितिले सहभागी टोलीका खेलाडीहरूका लागि यातायातका साथै दैनिक भत्ताको समेत ब्यवस्था गरेको छ ।


