त्रिभुवन विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम चैत १८ देखि | स्तरोन्नतिको जिम्मा रू. ४ अर्ब २७ करोडमा चीनको सरकारी कम्पनीलाई
काठमाडौं । झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर काम चलाइँदै आएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग अब भने स्तरोन्नति हुने भएको छ । सन् १९९५ ताका पिच गरिएको यो विमानस्थलको धावनमार्ग त्यसपछि स्तरोन्नति हुन सकेको थिएन । अब भने यो विमानस्थलको धावनमार्गको स्तरोन्नतिको काम चैत १८ गतेदेखि शुरू हुने भएको छ ।
यो विमानस्थलको धावनमार्गको स्तरोन्नति गर्ने जिम्मा चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले पाएको छ । सो कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन–वेको स्तरोन्नति गर्ने जिम्मा पाएको हो ।
त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षत्रीका अनुसार धावनमार्ग स्तरोन्नतिको काम चैत १८ देखि शुरू भएर ७० दिनमा सकिने अनुमान गरिएको छ ।
त्रिभुवन विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किने गरेको छ । अझ यो धावनमार्गको पिच हिउँदमा भन्दा वर्षायाम लागेपछि निकै उप्किने हुँदा समस्या भइरहेको थियो । धानमार्ग चिरा–चिरा पर्ने समस्या सुल्झाउन धावनमार्गको पिचलाई पूर्ण रूपमा नयाँ बनाउने योजना बनेको लामो समयपछि बल्ल निर्माण कम्पनी छनोट भएको छ ।
धावन मार्गमा मात्रै नभएर ट्याक्सी–वेमा समेत यस्तो समस्या आइरहेको थियो । ल्याण्डिङको समयमा धेरै भार भएका विमानले धावनमार्गमा उच्च चाप सिर्जना गर्दा समस्या आएको उड्डयन अधिकारीले बताएका छन् ।
प्रमुख क्षत्रीका अनुसार समस्या स्थायी रूपमा समाधानका लागि १ वर्ष लगाएर धावनमार्गलाई पूर्ण रुपमा नयाँ बनाइनेछ । अहिलेको कालोपत्रेलाई सबै उप्काएर नयाँ बिछ्याइनेछ । साथै धाँजा फाट्ने समस्यालाई हटाउन धावनमार्गको भित्री भागबाटै स्तरोन्नति गरिनेछ । स्तरोन्नतिपछि ३ हजार ५० मिटर लामो धावनमार्ग बलियो हुनेछ र विमानस्थल २४ घण्टा नै सञ्चालनका लागि योग्य हुनेछ ।
धावनमार्ग स्तरोन्नतिको काम राति १० बजेपछि शुरू हुने र बिहान ८ बज्दा विमानस्थल फेरि सञ्चालनका लागि योग्य भइसक्नेछ । स्तरोन्नतिको समयमा दैनिक १० घण्टा विमानस्थलमा उडान–अवतरण सेवा रोकिनेछ । रातभर काम गरेपछि बिहान उडान शुरू हुने बेलासम्म खनिएको धावनमार्गको भाग स्तरोन्नति गरेर तयार गरिसक्नुपर्नेछ ।
विमानस्थलका अनुसार यो काम धेरै चुनौतीपूर्ण छ । धावनमार्ग स्तरोन्नतिका क्रममा सानो समस्या आए पनि उडान अवतरण प्रभावित हुन सक्ने नागरिक उड्डयन सम्बद्ध अधिकारी बताउँछन् ।


