बैंकर्स संघले गर्यो फेरि अर्को सहमति | अब संस्थागत निक्षेपमा ८.६ प्रतिशत, सहमति पालना नगर्नेलाई एक्ल्याइने
काठमाडौं । नेपालका तीन वाणिज्य बैंकले ब्याज दरको पूर्वसहमति तोडेपछि तिनलाई कारबाही गर्न आज आइतबार बसेको बैंकर्स संघको बैठकले कारबाहीको सट्टा पुनः अर्को सहमति गरेको छ ।
संघले संस्थागत निक्षेपमा दिइने ब्याजदरमा यसअघि रहेको ८.५ प्रतिशत दरमा ०.१ प्रतिशत बिन्दु माथिसम्म ब्याज दिन पाइने सहमति गरेको छ । संघले नवीकरण गर्ने निक्षेपमा मात्र ८.६ प्रतिशत ब्याज सार्वजनिक गर्न पाउने सहमति गरेको हो ।
अब पनि सहमति पालना नगर्ने बैंकलाई अन्तरबैंक सापटीमा एक्ल्याउने, विदेशी मुद्रा सटहीमा सहयोग नगर्नेलगायतको अनौपचारिक सहमतिसमेत भएको छ ।
पूर्वसहमतिअनुसार संस्थागत निक्षेपकर्तालाई दिइने ब्याज ८.५ प्रतिशतसम्म मात्र प्रकाशित गर्न पाइन्थ्यो । अब यो सहमतिसँगै नवीकरण गर्ने निक्षेपमा ०.१ विन्दु माथि अर्थात् ८.६ प्रतिशत ब्याज सार्वजनिक गर्न पाइने भएको छ । नियामकीय प्रावधानअनुसार प्रकाशितभन्दा १ प्रतिशत बिन्दुसम्म बढाएर ब्याज दिन पाइन्छ । यसो हुँदा संस्थागत निक्षेपकर्ताले साढे ९ प्रतिशतसम्म मात्र ब्याज पाउँदै आएका थिए ।
गतसाता एकाएक एनसीसी र सनराइज बैंकले प्रकाशित ब्याजदर ८.६५ प्रतिशतसम्म पुर्याएका थिए । त्यसको भोलिपल्टै सेञ्चुरीले पनि ८.९९ प्रतिशत ब्याज दिने सूचना सार्वजनिक गरेपछि बैंकिङ क्षेत्रमा तरंग नै पैदा भएको थियो । यी तीन बैंकले सीमा नाघेपछि बैंकर्स संघले ती बैंकलाई कारबाही गर्ने मुख्य एजेण्डामा बैठक डाकेको थियो ।
संघका अध्यक्षले सेञ्चुरी बैकलाई कारबाही गर्ने बताउँदा अन्य ठूला बैंकका प्रमुख कार्यकारीले सनराइज र एनसीसीलाई पनि कारबाही गर्नुपर्ने बताउँदै आएका थिए । आज आइतवारको संघको बैठकमा त्यसमा विषयमा कुरा उठे पनि धेरैले समर्थन नगरेपछि संघले यस्तो उपाय निकालेको हो ।
एनएफआरएस, राजस्व, केवाईसीलगायतका विषयमा पनि छलफल भएको आजको बैठकमा नवीकरणीय निक्षेपमा ब्याज बढाउने सहमतिबाहेक पुरानो व्यवस्थालाई यथावत राखिएको छ । संघले डेढ महिनाअघि बचतमा साढे ६, व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिशतसम्म ब्याज दिने सहमति गरेको थियो ।
अर्थमन्त्री र गभर्नरको पहलमा संघले गरेको सहमति पालना नभएपछि संघले आकस्मिक बैठक डाकेको थियो । बैठकमा आधार ब्याज दरका विषयमा पनि छलफल भएको थियो ।



