बनेपाका तीन ग्यास उद्योगलाई तत्काल गुणस्तर प्रमाण चिह्न लिन निर्देशन |
बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित तीन ग्यास उद्योगलाई तत्काल गुणस्तर प्रमाण चिन्ह लिन निर्देशन दिइएको छ । जिल्ला अनुगमन समितिले बनेपामा सञ्चालित चण्डेश्वरी ग्यास उद्योग, सूर्य ग्यास उद्योग र उग्रचण्डी ग्यास उद्योगलाई अनुगमनका क्रममा तत्काल गुणस्तर प्रमाण चिह्न लिन निर्देशन दिएको हो ।
हिजो शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल आयल निगमका उपनिर्देशक प्रलयंकर आचार्य, नेपाल गुणस्तर तथा नापतौल विभागका केमिस्ट इञ्जय मानन्धर र बनेपा नगरपालिकाका प्रतिनिधिसहितको टोलीले अनुगमनका क्रममा ती उद्योगले गुणस्तर तथा नापतौल विभागबाट लिनुपर्ने गुणस्तर प्रमाण चिह्न नलिएको पाइएकाले उक्त प्रमाणपत्र लिन तत्काल प्रक्रिया शुरू गरिहाल्न निर्देशन दिएको हो ।
अनुगमनका क्रममा उद्योगमा काम गर्ने कर्मचारीलाई प्राविधिक तथा सुरक्षा तालीम नदिइएको, वितरक, विक्रेताको संख्या, ठेगाना र विवरण नराखेको, चालू वर्षमा प्रयोग अवधि समाप्त हुने सिलिण्डरको संख्या विवरण अद्यावधिक नराखेकोलगायत त्रुटिहरू पाइएकाले त्यसलाई छ महीनाभित्रमा व्यवस्था गरी जानकारी गराउनसमेत निर्देशन दिएको छ ।
जिल्लामा सञ्चालित पाँचवटा ग्यास उद्योगमध्ये सगरमाथा ग्यास उद्योग र भैंसेपाटीमा रहेको गौरीशंकर ग्यास उद्योगले मात्रै गुणस्तर प्रमाण चिह्न प्राप्त गरेको पाइएको छ । सगरमाथा ग्यास उद्योगले सगर ब्राण्डको सिलिण्डर र गौरीशंकर ग्यास उद्योगले हिमाल ब्राण्डको सिलिण्डर बजारमा ल्याएका छन् ।
Visited 1 times, 1 visit(s) today


