एकै पटक ५० पाइलट भर्ना गर्दै निगम | ४० जनाका लागि छिट्टै लोक सेवामार्फत सूचना प्रकाशित गर्ने तयारी
काठमाडौं । नेपाल वायु सेवा निगमले एकै पटक ५० जना पाइलट भर्ना गर्ने प्रक्रिया शुरू गरेको छ । निगममा असन्तुष्ट पाइलटहरूले राजीनामा दिने र बिरामी बिदा बस्ने क्रम बढ्न थालेपछि पाइलटलाई जगेडामा पनि राख्ने गरी निगमले यति ठूलो संख्यामा पाइलट भर्ना प्रक्रिया शुरू गरेको हो ।
विमानहरू प्राविधिक कारणले ग्राउण्डेड भएको बताइँदै आए पनि ग्राउण्डेड हुनुमा पाइलट अभाव नै मुख्य समस्या रहेको निगमकै एक उच्च अधिकारीले बताए । पाइटलको बढुवामा राजनीतिक चलखेल भएपछि असन्तुष्ट पाइलटहरूले राजीनामा दिने र बिदा बस्ने क्रम बढेको छ । त्यसले गर्दा भएका विमान पनि पाइलटको अभावमा ग्राण्डेड भएपछि निगमको आन्तरिक सेवामा ठूलो धक्का लाग्नुका साथै करोडौंको घाटा बेहोर्नुपरिरहेको ती अधिकारीले बताए ।
सोही समस्यालाई निराकरण गर्न भन्दै निगमले एकै पटक ५० जना पाइलट भर्ना गर्न प्रक्रिया शुरू गरेको छ । निगमले ४० जना पाइलटका लागि केही दिनमै लोक सेवामार्फत सूचना प्रकाशित गरिने निगमका सहायक प्रवक्ता नवराज कोइरालाले बताए ।
हाल निगमका एक अन्तरराष्ट्रियतर्फ र सात आन्तरिकतर्फका गरी आठवटा विमान सेवा दिन नसकेर थन्किएर बसेका छन् । विमान थन्किएपछि निगमको आन्तरिक हवाई सेवा प्रभावित भएको छ । जसले गर्दा वित्तीय संकटमा फसेको निगमलाई करोडौं घाटा लागिरहेको छ ।
सहायक प्रवक्ता कोइरालाका अनुसार हाल निगमको अन्तरराष्ट्रिय उडानतर्फको एक न्यारो बडी विमान सिंगापुरबाट ‘सि–चेक’ (नियमित परीक्षण र मर्मत) पश्चात् बिहीवार मात्रै नेपाल फर्किँदै छ र निगमसँग भएको एक मात्र बोइङ पनि ग्राउण्डेड छ । उनले आन्तरिकतर्फका ६ चिनियाँ विमानमध्ये एउटा मात्रै विमानले सेवा दिइरहेको जानकारी दिए । उनले भने, ‘तीनवटा वाई १२ ई विमान अहिले पनि ग्राउण्डेड नै छन् । यीमध्ये दुईवटा विमान उडाउन सकिने अवस्थामा रहे पनि पाइलट अभावले समस्या भएको छ ।’
निगमका दुई जना पाइलटले बिरामी बिदा लिएकाले गर्दा दुई चिनियाँ वाई–१२ ई जहाज सेवा दिन सक्ने अवस्थामा भएर पनि थन्काउनुपरेको कोइरालाको बताए । यसैगरी निगमसँग रहेको चिनियाँ एमए ६० विमान दुबै ग्राउण्डेड अवस्थामा छन् । हाल ग्राउण्डेड गरिएका विमानहरूको मर्मतको काम चलिरहेको छ । निगमसँग रहका २ ट्विनअटर पनि ग्राउन्डेड अवस्थामै छन् । एउटामा त पङ्खामै समस्या देखिएपछि लामो समयदेखि मर्मतमा छ ।
सहायक प्रवक्ता कोइरालाले भने, ‘पाइलट अभावको समस्या टार्नकै लागि एकैपटक ठूलो संख्यामा भर्ना गर्न लागेका हौं, अहिले चिनियाँ विमान र वाइड बडी विमान उडाउने चालकको अभाव छ । त्यसलाई केही समयभित्रै पूर्ति गर्ने योजना बनाएका छौं ।’



