स्वस्तिक पोलिमर्सको व्यावसायिक उत्पादन शुरु, ९५ प्रकारका प्लास्टिकको भाँडावर्तन |
विराटनगर । एके राठी समूह र रमेश राठी समूहको संयुक्त साझेदारीमा खोलिएको स्वस्तिक पोलिमर्स प्रालिले व्यवसायिक उत्पादन शुरु गरेको छ । कम्पनीले पहिलो चरणमा ९५ प्रकारका प्लास्टिकका भाँडावर्तन बजारमा ल्याएको छ ।
मोरङको बुढीगङ्गा गाउँपालिकामा ३० करोडको लगानीमा खुलेको स्वस्तिक पोलिमर्सले यही माघ महिनादेखि व्यावसायिक उत्पादन शुरु गरेको हो । दोस्रो चरणमा थप ३० करोडको लगानी गरेर प्लास्टिकका थप घरायसी सामान, फर्निचर र ड्रमको पनि उत्पादन गरिने सञ्चालक रमेश राठीले बताए ।
सञ्चालक राठीका अनुसार स्वस्तिक पोलिमर्सका सामान देशभरिका बजारमा पुर्याइएको छ । सामानहरू शत प्रतिशत भर्जिन र फुड ग्रेडका रहेको दाबी गरिएको छ ।
उद्योगले एक महिनायता पोखरा, बुटवल, विराटनगर र बिर्तामोडमा प्रदर्शनीमा भाग लिइसकेको र ग्राहकले यसका उत्पादनलाई रुचिका साथ मन पराएको राठीले बताए । स्वस्तिक पोलिमर्सका उत्पादनका बुट्टालाई उपभोक्ताले विशेष रुचाएको उनको अनुभव छ ।
उद्योगले भारतको रिलायन्स, आइओसीएल र हल्दिया रिफाइनरीबाट दाना र मास्टर ब्याच पैठारी गरेर उत्पादन गर्दै आएको छ । साढे दुई बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा पूर्ण स्वचालित मेसिन राखिएको र पहिलो चरणमा ५० कामदार मात्र भएको सञ्चालक रमेशले जानकारी दिए । दोस्रो चरणको उत्पादन शुरु भएपछि २०० भन्दा बढी कामदार हुनेछन्।् ।
Visited 1 times, 1 visit(s) today


