आईएलओ र नेउवा महासंघबीच सम्झौता | श्रम बजार सुधार र रोजगारदाताको क्षमता अभिवृद्धिमा आईएलओले सघाउने
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपालस्थित अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) बीच एकआपसमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । दुवै संस्थाबीच नेपालमा श्रम वजार सुधार र रोजगारदाताको क्षमता अभिवृद्धिसम्बन्धी परियोजना कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिएकी हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघको रोजगारदाता परिषद्का सभापति एवम् उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र आईएलओ नेपालका देशीय निर्देशक रिचार्ड हवार्डले हिजो मंगलवार महासंघ सचिवालयमा भएको भेटवार्ताका क्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार महासंघको रोजगारदाता परिषद्द्वारा सञ्चालन गरिने परियोजना कार्यक्रमअन्तर्गत महासंघका सातवटै प्रदेश च्याप्टरहरूको क्षमता विस्तार, नयाँ श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन, सामाजिक संवादलगायतका विषयमा चेतना अभिवृद्धि गरी औद्योगिक सम्बन्धको सुधार गर्ने कार्यमा आईएलओले सहयोग गर्नेछ ।
भेटवार्ताका क्रममा महासंघ र आईएलओबीचको सहकार्य, नेपालको पछिल्लो आर्थिक वस्तुस्थिति, रोजगारी, औद्योगिक श्रम सम्बन्ध, सामाजिक सुरक्षा तथा श्रम ऐनलगायत विषयमा समेत विस्तृत छलफल भयो ।
सो अवसरमा महासंघकी अध्यक्ष राणाले आईएलओको सहयोगप्रति आभार प्रकट गरिन् । अध्यक्ष राणाले देशीय निर्देशक रिचार्डको स्वागत गर्दै नेपालको आर्थिक विकास, श्रम सम्बन्ध सुधारमा आईएलओले निर्वाह गरेको भूमिकाको प्रशंसा गरिन् । उनले नेपाली निजीक्षेत्र मुलुकभित्र औद्योगिक विकासमार्फत रोजगारी सृजनामा केन्द्रित भएको, रोजगारदाता एवम् श्रमिकबीचको सम्बन्ध सुमधुर बन्दै गएकाले मुलुक अब विस्तारै आर्थिक समृद्धितर्फ अगाडि बढ्ने आशा निजीक्षेत्रले गरेको बताइन् ।
महासंघको रोजगारदाता परिषद्का सभापति एवम् उपाध्यक्ष ढकालले आईएलओबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै महासंघ आईएलओसँग निरन्तर सहकार्य गर्न तयार रहेको र आईएलओबाट प्राप्त सहयोगबाट महासंघको स्थानीय प्रदेश च्याप्टहरूको क्षमता अभिवृद्धि भई स्थानीय तहमा श्रम सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास प्रकट गरे ।
देशीय निर्देशक हवार्डले महासंघको आवश्यकताका आधारमा आगामी दिनहरूमा पनि थप प्राविधिक सहयोग एवम् कार्यक्रमहरू विस्तार गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालको औद्योगिक श्रम सम्बन्ध विकासमा महासंघ र आईएलओले निकै लामो समयदेखि सहकार्य गर्दै आएको र आगामी दिनहरूमा पनि निरन्तर सहकार्य गर्दै जाने विश्वास दिलाए ।
सो अवसरमा महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी, उपमहानिर्देशक हंशराम पाण्डे र आईएलओका वरिष्ठ अधिकृत प्रकाश शर्मालगायतको उपस्थिति रहेको थियो ।
Visited 1 times, 1 visit(s) today


