३३ किलो सुन प्रकरणमा निलम्बित श्रेष्ठविरुद्ध साढे १४ करोडको मुद्दा |
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका तत्कालीन रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठविरुद्ध साढे १४ करोडभन्दा बढी भ्रष्टाचार गरेको दाबी गर्दै मुद्दा दायर गरेको छ ।
आयोगले श्रेष्ठविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै १४ करोड ६१ लाख २४ हजार ४ सय ७८ रुपैयाँ ८८ पैसाबराबरको विगो दावी गर्दै आज मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका हुन् ।
गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीका आधारमा उनलाई जरिवाना र कैद सजाय दुवै माग गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुँदा ३३ किलो सुन तस्करीको अभियोगमा २०७३ साल पुस २७ देखि निलम्बनमा परेका थिए ।
साथै, श्रेष्ठले उनकी जेठी श्रीमती तारावेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुबा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र बुहारी रविना प्रधानाङ्गको नाममा आफूले गैरकानुनी रूपमा आर्जेको सम्पत्ति राखेकाले उक्त सम्पत्ति जफत गर्न पनि अख्तियारले माग गरेको छ ।
Visited 1 times, 1 visit(s) today


