चन्द्रगढी विमानस्थलमा बुद्ध एयरको पहिलो रात्रि परीक्षण उडान हुँदै |
काठमाडौं । बुद्ध एयरले चन्द्रगढी विमानस्थलमा पहिलो पटक रात्रि उडान गर्दै छ । चन्द्रगढी विमानस्थलले यही माघ २७ गतेदेखि रात्रि सेवा पनि शुरू गर्ने र त्यसमा बुद्ध एयरले दिने भएको हो । अहिलेसम्म यो विमानस्थलमा बेलुकी पौने ६ बजेसम्म मात्रै उडान हुँदै आएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार माघ २७ गतेपछि राति ९ बजेसम्म उडान र अवतरण गर्न सकिनेछ । आईएफआर ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ अन्तर्गत काठमाडौं–चन्द्रगढी रात्रि उडान गरिने क्यानका महानिर्देशक सञ्जीव गौतमले बताए । बुधवार परीक्षण उडान हुनेछ । उनका अनुसार यो गन्तव्यमा उडान गर्दै आएका सबै आन्तरिक वायुसेवा कम्पनीले आवश्यकताअनुसार रात्रि उडान गर्न सक्नेछन् ।
हाल बुद्ध एयरले ७२ सिटे एटीआर–७२ मार्फत काठमाडौं–चन्द्रगढी दैनिक दुईवटा नियमित उडान सेवा दिँदै आएको छ । हाल बुद्ध एयर, श्री एयरलाइन्स र यती एयरले काठमाडौं, भैरहवा, नेपालगञ्ज, धनगढी, विराटनगर, सिमरालगायतका क्षेत्रमा राति नौ बजेसम्म आन्तरिक उडान सेवा दिँदै आएका छन् ।
चन्द्रगढी विमानस्थलमा दश महिनाअघि बिहान र दिउँसोका लागि स्याटेलाइट बेस्ड आईएफआर सेवा शुरू भइसकेको छ ।



