कोशी र नारायणी नदीमा पानीजहाज चलाउने सरकारी निर्णय | १६ जना इञ्जिनियरसहितको प्रशासनिक संरचना खडा गरियो
काठमाडौं । अब भने नेपालमा पनि पानीजहाज चल्ने पक्कापक्की भएको छ । हिजो बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले पानीजहाज सञ्चालन गर्ने निर्णय गर्दै त्यसका लागि प्रशासनिक संरचना स्वीकृत गरेसँगै पानी जहाज चल्ने निश्चित भएको हो । सरकारले १६ जना इञ्जिनियरसहितको प्रशासनिक संरचना स्वीकृत गरेको छ ।
सरकारले अब सोही संरचनाको प्रयोग गरेर कोशी र नारायणी नदीमा पानी जहाज चलाउने सूचना तथा सञ्चार प्रविधी मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका छन् ।
ऊर्जा तथा जलस्रोत मन्त्रालयले पानी जहाज सञ्चालनका लागि समिति गठन गरेर अध्ययन गराइरहेको छ । सरकार भारतीय पक्षसँगको छलफलपछि अन्तिम प्रतिवेदन तयार पार्ने चरणमा पुगेको छ । पहिलो चरणमा कोशी र नारायणी नदीमा पानी जहाज चलाउने बताइएको छ ।



