रिलायन्स लाइफको नयाँ योजना, वार्षिक ५ प्रतिशतका दरले रकम फिर्ता |
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा क्षेत्रमा नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरूका लागि मुद्दती निक्षेप सुरक्षा योजना ल्याएको हो । बैंकको मुद्दती निक्षेपजस्तै सुविधा यो स्किममा रहेको कम्पनीले बताएको छ ।
यस योजनाअन्तर्गत नियमित वा एकमुष्ट बीमा शुल्क भुक्तानीे, दोब्बर रक्षावरण र बीमा अवधिभर बीमाङ्कको वार्षिक ५ प्रतिशतको दरले रकम फिर्ता पाइनेजस्ता सुविधा रहेको कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार बीमा चालू रहेको अवस्थामा बीमितको मृत्यु भएमा कुल बीमाङ्क वा बीमाङ्कको दोब्बर रकम (वार्षिक भुक्तानी गरिसकेको रकम नकटाई) र बोनस एकमुष्ट रूपमा भुक्तानी हुनेछ । अन्य अवस्थामा बीमा अवधिको समाप्तिमा बाँकी बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ट रूपमा बीमितलाई भुक्तानी गरिनेछ ।
बीमालेखको निरन्तरता रहुञ्जेलसम्म सुरक्षाका साथै वार्षिक रूपमा निश्चित रकम प्राप्त हुने हुँदा भविष्यमा आइपर्ने वित्तीय आवश्यकताहरू पूरा गर्न उक्त योजना एक उत्तम विकल्प भएको कम्पनीको दाबी छ ।


