सरकारले खुल्ला गरे पनि जग्गाको कित्ताकाट भरतपुरमा नहुने |
भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा जग्गाको कित्ताकाट नहुने भएको छ । केन्द्र सरकारले जग्गाको कित्ताकाट सम्बन्धमा गरेको निर्णय चितवनको भरतपुरमा पूर्ण रूपमा लागू गर्न नसकिने भरतपुर महानगरपालिकाले बताएको हो ।
भरतपुर महानगपालिकाले जग्गाको वर्गीकरणका आधारमा जग्गाको अंशबण्डा, किनबेच, प्लटिङको मापदण्ड स्थानीय तहले नै बनाउने उल्लेख गरिएको नीतिअनुसार जग्गा कित्ताकाट फुकुवाका लागि थप गृह कार्य आवश्यक रहेको भन्दै जग्गा कित्ताकाट रोकेको हो ।
हालै सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेसँगै चितवनमा केही भूमाफियाहरू मनपरी तवरले सलबलाएका कारण पनि आफूहरूले स्पष्ट कार्ययोजना बनाएर मात्रै जग्गाको कित्ताकाट फुकुवा गर्ने भरतपुर महानगरकी मेयर रेनु दाहालले बताइन् ।
उनले भनिन्, ‘विगतमा भरतपुरमा मनपरी तवरले जग्गाको कित्ताकाट हुँदा समस्या आएको सबैलाई थाहा छ, स्मार्ट सिटी बनाउने भनेर तथ्यांक संकलन कार्यसमेत जारी छ । यसअघि नै कृषियोग्य जग्गासमेत प्लटिङ भएका छन् । अब नीति बनेपछि मात्रै खुल्ला गर्नेछौं । अब मनपरी चल्दैन ।’
भरतपुरमा अव्यवस्थित तवरले प्लटिङ भएका कारण झण्डै २० प्रतिशत कृषियोग्य जमिन प्लटिङ गरिएको कृषि कार्यालयको तथ्यांक छ । प्रमुख दाहालका अनुसार भरतपुरमा मनपरी तवरले पैसा खुवाएर जथभावी प्लटिङ गर्ने कार्य बढेका कारण बाध्य भएर जग्गा कित्ताकाट नखुलाउने निर्णय गर्नुपरेको हो । अव्यस्थित प्लटिङकै कारण भरतपुर विमानस्थल विस्तारमा समेत बाधा सृजना भएको छ ।
झण्डै डेढ वर्षअघिदेखि रोकिएको जग्गाको कित्ताकाट नेपाल सरकारले यही पुस २७ गतेबाट तत्काल लागू हुनेगरी खुला गरेको थियो ।
Visited 1 times, 1 visit(s) today


