भकुण्डेबेंसीबाट इँटाभट्टा उद्योग हट्दै | उद्योग हटाउन आठबुँदे सम्झौतापत्रमा भयो हस्ताक्षर
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेंसीमा सञ्चालन भइरहेका इँटाभट्टा उद्योगहरू अब त्यहाँबाट हट्ने भएका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको समन्वयमा नगरपालिका र इँटा व्यवसायीबीच हिजो शनिवार धुलिखेलमा लामो छलफल भएपछि त्यहाँबाट आगामी २०७६ असार मसान्तभित्रमा इँटाभट्टा हटाउने निर्णय भएको हो । इँटाभट्टा उद्योग हटाउने विषयमा आठबुँदे सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ ।
यसअघि त्यहाँ सञ्चालित इँटाभट्टा उद्योगले नगरभित्र वातावरण प्रदूषण बढ्दै गएर मानव स्वास्थ्यमै प्रतिकूल असर पारेको भन्दै नगरपालिकाले त्यस्ता उद्योग बन्द गर्न र जग्गादातालाई समेत जग्गा उपलब्ध नगराउन तथा व्यवसायीलाई इँटा उत्पादन नगर्न आग्रहसहितको सूचना जारी गरेको थियो । तर, व्यवसायीहरूले नगरपालिकाको सार्वजनिक सूचनासहितको आग्रहलाई बेवास्ता गर्दै आफ्ना इँटाभट्टा उद्योगहरू सञ्चालन गर्दै आइरहेका थिए ।
नमोबुद्ध नगरपालिकाका प्रमुख टंकप्रसाद शर्मा तिमल्सिनाले हिजो शनिवार सम्पन्न बैठकले लामो समयसम्म अल्झिइरहेको विषयलाई टुङ्गोमा पुर्याउन सफल भएको बताए । उनले भने, ‘सम्झौता कसैको जित र हारभित्र नपरी समृद्धिको नाराभित्र परेको र त्यसले नगरको समग्र विकासको कार्यमा थप सहयोग पुग्नेछ ।’
काभ्रे इँटा व्यवसायी संघका अध्यक्ष जीतेन्द्र खैमलीले उद्योग बन्द नगर्न आग्रह गरेको भए पनि नगरपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गर्न गरिएको आग्रहलाई बुझेर सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुपरेको बताए । उनले भने, ‘चार हजारभन्दा बढी मजदुरलाई रोजगारी दिएको उद्योग बन्द हुँदा त्यसले समुदायलाई नै असर पार्नेछ, त्यसैले उद्योग अरु ठाउँमा सञ्चालन गर्न पाउनुपर्छ ।’
भकुण्डेबेंसीका स्थानीय किसानहरूले नगरपालिका र इँटा व्यवसायीसँग सम्झौता गर्दा किसानले नगरपालिकासँग गरिएको २१ बुँदे सहमतिपत्रलाई सम्बोधन गर्न बिर्सन नहुने बताएका छन् । उनीहरूले डिप बोरिङबाट ६ सय घरधुरीलाई वितरण गर्दै आएको पानी इँटाभट्टाका कारण सुकेको छ बताए ।
भकुण्डेबेंसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष उद्धवप्रसाद काफ्लेले भने, ‘इँटाभट्टाका कारण बोरिङ गरेर निकालिने पानी नै सुकेका कारण अहिले रोशीखोलाबाट पानी तान्नका लागि बाध्य भएको र त्यसका लागि प्रक्रियासमेत अगाडि बढाइएको छ, नगरपालिकाले खानेपानीको विषयमा सम्झौतापत्रमा उल्लेख गर्नुपर्ने बताए ।
सम्झौतापत्रमा हाल नगरपालिकाभित्र सञ्चालित इँटा उद्योग २०७६ साल असार मसान्तभित्रमा उत्पादित सबै इँटा प्रचलित वातावरणीय मापदण्डभित्र रही व्यवस्थापन गरी उद्योगको भौतिक संरचना हटाएर बन्द गर्ने, नगरपालिकासँग समन्वय गरी अन्य क्षेत्रमा प्रचलित कानून, वातावरणीय मापदण्ड, नवीनतम वातावरणमैत्री प्रविधिअनुरुप उपयुक्त विकल्प खोजी व्यवसाय सञ्चालन गर्ने, हाल उत्पादित इँटा नगर बासिन्दा भूकम्पपीडित लाभग्राहीका लागि सम्बन्धित वडाको सिफारिशमा व्यवसायीले तोकेको छुट मूल्यमा छ हजार इँटासम्म दिनुपर्ने, इँटा उद्योग आसपासमा रहेको सोती खोला करिडोरको ट्रयाक खोल्न करिडोरको मापदण्ड क्षेत्रभित्र पर्ने संरचना र सामग्री हटाउनुपर्ने उल्लेख छ ।
त्यस्तै, सहमति परिपालनाको सन्दर्भमा छुट्टै समिति गठन गरी अनुगमन गर्ने, तोकिएको समयभित्र हटाउने प्रक्रिया शुरू नगरेमा नगरपालिका आफैंले हटाउने र सोका लागि लागेको खर्च इँटा उद्योगले ब्यहोर्नुपर्ने, इँटा उद्योग सञ्चालनमा प्रयोग गरिएको जग्गालाई साँध सिमाना यकिन गरी खेतीयोग्य बनाई जग्गाधनीलाई फिर्ता गराउनुपर्ने र उल्लेखित बुँदा यसै करारबमोजिम र उल्लेख नभएका विषय प्रचलित मुलुकी देवानी (संहिता) ऐन, २०७४ र प्रचलित नेपाल कानूनबमोजिम हुने कुरा सम्झौतापत्रमा उल्लेख छ ।


