कम्पनीको फाइदा स्थानीयलाई बाँड्न रामदेवको दिव्य फार्मेसीलाई हाइकोर्टको आदेश |
भारतको उत्तराखण्ड हाइकोर्टले बाबा रामदेवको दिव्य फार्मेसीलाई आफ्नो मुनाफामध्ये २ करोड भारु स्थानीय किसान र समुदायमा बाँड्नका लागि आदेश दिएको छ । कोर्टले उत्तराखण्ड बायोडाइभर्सिटी बोर्ड (यूबीबी) का विरुद्ध दर्ता भएको दिव्य फार्मेसीको उजुरी खारेज गरिदिएको छ र जैविक विविधता अधिनियम २००२ का अनुसार कम्पनीले आर्जन गरेको मुनाफालाई स्थानीय मानिसहरुमा बाड्नुपर्ने प्रावधानलाई लागू गर्नका लागि भनेको छ ।
न्यायाधीस सुधांशू धूलियाका अनुसार, फार्मेसीले आयुर्वेदिक औषधी बनाउनका लागि कच्चा पदार्थको रुपमा प्राकृतिक जडीबुटीको प्रयोग गर्दै आइरहेको छ । उक्त कच्चा पदार्थका लागि रामदेवको कम्पनीले आर्जन गरेको ४२१ करोड भारु नाफामध्ये २ करोड स्थानीय मानिसलाई बाँड्नुपर्नेछ ।
यूबीबीले जैविक विविधता ऐन २००२ को एउटा प्रावधानका आधारमा दिव्य फार्मेसीको बिक्री आधारमा लेभी फीस मागेको थियो । तर दिव्य फार्मेसी यसका विरुद्ध उत्तराखण्ड हाइकोर्टमा पुगेको थियो ।
फार्मेसीको अधिकांश आयुर्वेदिक उत्पादन जङ्गल र पहाडी इलाकाबाट जम्मा गरिएको जडीबुटी र हर्बल चीजहरुबाट बन्दछ । ऐनका अनुसार, कमाईको हिस्सा उक्त इलाकामा बस्ने मानिसहरुका साथ बाड्न जरुरी छ ।
एजेन्सी




