जनवरी १ देखि मलेशियाको वैदेशिक रोजगारी झन् व्यवस्थित हुँदै | अबदेखि रोजगारदाताले १ दशमलव २५ प्रतिशत रकम सामाजिक सुरक्षा संस्थामा जम्मा गर्नुपर्ने

काठमाडौं । नेपाली युवायुवतीहरूको श्रम गन्तव्यमध्ये प्रमुख देशको रूपमा रहेको मलेशिया वैदेशिक रोजगारीका लागि अझ व्यवस्थित हुने भएको छ । मलेशिया सरकारले आप्रवासी कामदारलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सन् २०१९ देखि नयाँ व्यवस्था लागू गरेको छ । नेपाल र मलेशियाबीच श्रम सम्झौता भएलगत्तै मलेशिया सरकारले यस्तो व्यवस्था लागू गर्न लागेको छ । यसले गर्दा विदेशी कामदारका लागि यो व्यवस्थाले रोजगारी थप व्यवस्थित हुने पक्का भएको हो । यो नेपाली कामदारहरूका लागि खुशीको कुरा हो ।
केही समय यतादेखि मलेशियामा कामदार जान पाएका छैनन् । अब छिट्टै नै मलेशियाको बैदेशिक रोजगारी खुल्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।
मलेशिया सरकारले उक्त व्यवस्था लागू गरेपछि रोजगारदाता कम्पनीले विदेशी कामदारलाई मलेशियाको सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । हाल विदेशी कामदारको सामाजिक सुरक्षा कार्यक्रम वैदेशिक कामदार क्षतिपूर्ति योजनाअन्तर्गत सञ्चालन हुँदै आएको थियो ।
रोजगारदाताले विदेशी कामदारलाई उक्त संस्थामा दर्ता गर्नुपर्ने र सामाजिक सुरक्षाबापत कामदारको मासिक न्यूनतम पारिश्रमिकको १ दशमलव २५ प्रतिशत रकम पनि सो संस्थामा जम्मा गर्नुपर्नेछ । उक्त रकम कामदारको तलबबाट कटाइने छैन । आगामी जनवरी १ उप्रान्त मलेशिया आउने विदेशी कामदारलाई अनिवार्य रूपमा संस्थामा दर्ता गर्नुपर्नेछ ।
उक्त संस्थामा दर्ता भएका विदेशी कामदारले स्वास्थ्योपचार, अस्थायी तथा स्थायी अशक्तता सुविधा, आश्रित परिवार सुविधा, शव फिर्ती तथा अन्तिम संस्कार र सुविधा, सहयोगी भत्ता तथा पुनःस्थापना सुविधा प्राप्त गर्न सक्ने क्वालालम्पुरस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
दूतावासले हाल मलेशियामा कार्यरत र आउने क्रममा रहेका सम्पूर्ण नेपाली कामदारलाई आ–आफ्नो रोजगारदातासँग सम्पर्क राखी आफूलाई सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनसमेत आग्रह गरेको छ । वैधानिक रूपमा कामका लागि बसोबास गर्ने कामदारले मात्र उक्त सुविधा पाउने मलेशिया सरकारले बताएको छ । आफू आएको कम्पनी छोडेर अवैधानिक रूपमा अर्को कम्पनीमा जाने कामदार त्यस्तो सुविधाबाट वञ्चित हुनेछन् ।
रोजगारदातासँग वा कम्पनीमा कुनै समस्या भएमा दूतावासमा सम्पर्क गर्न र आफूखुशी कम्पनी छाडेर नहिँड्नसमेत दूतावासले नेपाली श्रमिकलाई आग्रह गरेको छ ।