अर्थमन्त्रीको उच्चस्तरीय समितिले आइतवार प्रतिवेदन बुझाउँदै | समस्या समाधानका उपायसहितको प्रतिवेदनलाई आज अन्तिम रूप दिँदै समिति
काठमाडौं । सरकारले मुद्रा बजार र पूँजीबजारको सुधारका लागि भन्दै गठन गरेको उच्चस्तरीय समितिले आगामी आइतवार प्रतिवेदन बुझाउने भएको छ । पछिल्लो समय ब्याजदर तथा पूँजी बजारमा देखिएको समस्या समाधान गर्न र मुद्रा बजार तथा पूँजीबजारको सुधार गर्नका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा उक्त समिति गठन गरेका थिए ।
उक्त समितिले तयार पारेको प्रतिवेदनलाई आज अन्तिम रूप दिने र आगामी आइतवार अर्थ मन्त्रालयलाई बुझाउने तयारी गरेको समितिका एक सदस्यले जानकारी दिए । कार्यदलले ब्याजदर तथा पुँजी बजारमा देखिएका समस्या र समाधानका उपायसहितको प्रतिवेदन बुझाउने उनको भनाइ छ । समितिको बैठक बिहीवार साँझ राष्ट्र बैंकमा बसेको थियो ।
समितिले यसअघि सरोकारवाला सबैसँग सुझाव लिएको थियो । पूँजी बजार क्षेत्र सुधारका लागि पूँजी बजार लगानीकर्ता संघले पनि १३ बुँदे सुझाव दिएको छ ।
समितिमा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, पूँजी बजार लगानीकर्ताको तर्फबाट नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेल र पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका साथै अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव सदस्य रहेका छन् ।
प्रतिवेदन आएपछि राष्ट्र बैंकले कस्तो कदम चाल्ला ?
पछिल्लो समय निक्षेप संकलनका लागि ब्याजदरमा प्रतिस्पर्धा गरिरहेका वाणिज्य बैंकहरू हाल ब्याज प्रतिस्पर्धामा रोकिएका छन् । नेपाल राष्ट्र बैंकले पनि यही उच्चस्तरीय समितिको प्रतिवेदनको पर्खाइमा रहेको बताउँदै आएको छ । समितिले उक्त प्रतिवेदन अर्थ मन्त्रालयलाई आगामी आइतवार बुझाएपछि वित्तीय संस्थाहरूको नियामक निकाय राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एउटा मापदण्डमा ल्याउन उचित कदम अवश्य नै चाल्नेछ ।
Visited 1 times, 1 visit(s) today


