फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकना नै उपयुक्तː नेपाली सेना |

काठमाडौं । शुक्रबार संसदको विकास तथा प्रविधि समितिकको बैठकमा काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) को प्रस्थान विन्दु खोकना नै उपयुक्त भएको नेपाली सेनाले बताएको छ । पूरातात्विक सम्पदा श्रीकाली मन्दिर मासिने भन्दै स्थानीयबासीले आन्दोलन गरेपछि फास्ट ट्रयाकमा खोकनाको विकल्प खोजिएको थियो । जनप्रतिनिधिले समेत स्थानीयबासीको मागलाई समर्थन गर्दै फर्सिडोललाई प्रस्थान विन्दूका रुपमा अघि सारेका थिए । तर, सेनाले फर्सिडोललाई प्रस्थान विन्दु बनाउँदा राजधानीबाट एक घन्टामा तराई पुग्न सम्भव नहुने बताएको हो ।
निर्माणाधीन सुख्खा बन्दरगाह पनि खोकनाबाट नजिक पर्ने भन्दै सेनाले फर्सीडोलमा प्रस्थान विन्दू बनाउँदा थप कनेक्टिभिटीको निर्माण कार्य गर्नुपर्ने बताइएको छ ।
समितिको बैठकमा नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख उपरथी योगेन्द्र खाँडले भने, ʽफर्सीडोलमा प्रवेश विन्दू बनाउँदा मध्य सहर तथा चक्रपथसँग जोडिने लिंक रोड निर्माण गर्दा जग्गा अधिग्रहण गर्नुपर्ने र स्थायी भौतिक संरचनाको समेत क्षति व्यहोर्नुपर्ने हुन्छ ।ʼ
फास्टट्रयाक निर्माणको जिम्मा पाएको सेनाका अनुसार खोकना क्षेत्रमा ५१ प्रतिशत जग्गाको मुआब्जा समेत वितरण भइसकेको र बाँकी ४९ प्रतिशत क्षेत्रफल अधिग्रहणका लागि पुरानै मुल्याकंन अनुसार हुनेछ । तर, फर्सिडोलमा पुरै प्रक्रिया फेरि शुरु गर्दा जग्गा र संरचनाको मुआब्जा धेरै दिनुपर्नेछ ।
नेपाली सेनाले अहिलेकै अवस्थामा फास्ट ट्रयाक निर्माणको वातावरण बनाइदिन राजनीतिक तथा प्रशासनिक नेतृत्वलाई आग्रह गरेको छ ।