नेपालकै पहिलो विशेष आर्थिक क्षेत्रमा उद्योग खुल्ने क्रम शुरू | १८ वटाले पूर्वाधार निर्माण थाले, शक्ति मिनरल्स चाँडै सञ्चालनमा आउँदै
रुपन्देही । रुपन्देही जिल्लाको को रोहिणी गाउँपालिकास्थित नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना गर्ने कार्य शुरू भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणबाट अनुमति लिएका उद्योगमध्ये केही उद्योग तत्कालै सञ्चालनमा आउने तयारीमा छन् भने केही उद्योग भू–बहाल शुल्क बुझाएर भौतिक पूर्वाधार निर्माणमा जुटेको प्राधिकरणका प्रवक्ता सुन्दर थापाले जानकारी दिएका हुन् ।
उनका अनुसार प्राधिकरणबाट अनुमति पाउने २४ उद्योगमध्ये १८ वटा उद्योगले उद्योग सञ्चालनका लागि आवश्यक कार्य अघि बढाएका हुन् । तत्कालै काम शुरू गर्नेमा शक्ति मिनरल्स उद्योग रहेको छ । सो उद्योग ३ महिनाभित्र सञ्चालनमा आउने बताइएको छ । आगामी दुई वर्षभित्र सेजभित्रका सम्पूर्ण उद्योग सञ्चालनमा आउने प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार सम्झौता गरेका उद्योगहरुले पूर्वाधार निर्माणको डिजाइन गर्न शुरू गरिसकेका छन् । सेजमा रहेका उद्योगका लागि आवश्यक पर्ने विद्युत्समेत व्यवस्था गरिसकिएकाले पूर्वाधार निर्माणमा ढिलाइ नहुने प्राधिकरणको दाबी छ । ५२ विगाह क्षेत्रफलमा फैलिएको उक्त सेजमा १४ सयदेखि ३७ सय वर्गमिटरसम्मका ६९ वटा प्लट रहेका छन् ।
नेपाल सरकारले रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका सामानहरू उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्न उक्त सेजको स्थापना गरेको हो । उक्त सेजमा स्थापना हुने उद्योगहरूका लागि प्रारम्भिक आधारभूत विकास निर्माणको काम नेपाल सरकारले नै गर्छ । यो क्षेत्रमा स्थापना भएका जुनसुकै उद्योगले आफ्नो उत्पादनका ७५ प्रतिशत सामान विदेश निर्यात गर्नुपर्छ । यहाँ खाद्य तथा कृषिजन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका वस्तु, तयारी पोशाक, गलैंचा तथा ऊनी सामान, रेशम, हाते कागजका वस्तु गरी १७ किसिमका उद्योगहरु रहनेछन् ।
Visited 2 times, 1 visit(s) today


