अब वाणिज्य बैंकको चुक्तापूँजी १६ अर्ब बनाउनुपर्छ : गभर्नर |
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले अब वाणिज्य बैंकहरूको चुक्तापूँजी १६ अर्ब बनाउनुपर्ने धारणा राखेका छन् । उनले हिजो ८ अर्ब चुक्तापूँजी शुरू गर्दा आत्तिएका सीईओहरू अहिले १६ अर्ब पु¥याउन तयार हुनु सकारात्मक पाटो भएको बताएका छन् । उनले राजधानीमा आयोजित ‘इकोटक’ कार्यक्रममा बोल्दै त्यस्तो भनाइ राखेका हुन् ।
गभर्नर नेपालले हामीले शुरू गरेको बैंक मर्जर र चुक्तापूँजी वृद्धिले सफलता हात पारेको बताए । हिजोको दिनमा असहमति जनाउने बैंकहरुले पनि अहिले बैंक मर्जर र चुक्ता पूँजीवृद्धिले गर्दा ठूलै लाभ लिइरहेको उनको भनाइ थियो ।
१ सय ४२ बैंक मर्जर भएर अहिले २८ वटामा सीमित हुनुले जनताको लगानी सुरक्षित हुने उनको धारणा थियो । भुटानका बैैंकको ५ अर्ब चुक्ता पूँजी हुँदा नेपाली बैंकको मात्र २ अर्ब चुक्ता पूँजी थियो । अहिले हामीले ८ अर्ब पुर्याएका छौं । बैंकहरुलाई फेरि पनि मर्जर गराएर चुक्ता पूँजी वृृद्धि हुनुपर्नेमा उनले जोड दिए ।
गभर्नर नेपालले भने, ‘बैंकले व्यवसायीलाई आर्थिक अनुशासनमा राख्नु स्वाभाविक हो । आज तीनपुस्ते विवरण राख्दा त रकम तिर्न नमान्ने व्यवसायीहरूले व्यक्तिको नाम मात्र राख्दा बैंकको लगानी जोखीममा पर्छ । जनताको लगानी सुरक्षित गर्न ऋणीहरूले आर्थिक अनुशासनको पालना गर्नुपर्छ ।’
गभर्नर नेपालका अनुसार कृषिमा बैैंकले लगानी गर्न नमान्नु एउटा समस्या हो तर अहिले हामीले देशभरका ७ हजार ४ सय जना कृषकलाई अनुदानको व्यवस्था भइसकेको छ । यसका लागि निवेदन पेश गरेर मात्र हुँदैन, काम नै गरेर देखाउनुपर्छ ।
उनले भने, ‘कृषि प्रधान देशमा अर्बाैंको तरकारी विदेशबाट आयात गरिनु दुःखद हो । नेपालमा उद्योग खोलेर कसैले पनि घाटा खानुपर्ने अवस्था छैन ।’




