रिद्धि सिद्धिद्वारा निर्माणकर्मी सम्मेलनको आयोजना |
काठमाडौं । शंकर ग्रुपको उत्पादन रिद्धि सिद्धिको आयोजनामा निर्माणकर्मीहरु समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्ने उद्देश्यका साथ एक बृहत् अन्तरक्रियात्मक कार्यक्रम यही बैशाख १३ गते शुक्रबारको दिन सम्पन्न भएको छ । उक्त कार्यक्रम ‘गुणस्तरको नयाँ स्तर’ भन्ने मूल सन्देशको साथ बिरगंजमा आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा उपस्थित निर्माणकर्मीहरु माझ रिद्धि सिद्धि सिमेन्टको प्राविधिक पक्षको विस्तृत जानकारी सहितको प्रस्तुतिकरण पेश गरिएको थियो । यस उत्पादनका बारेमा बोल्ने क्रममा रिद्धि सिद्धि सिमेन्टका सहायक ब्राण्ड म्यानेजर अनुज महतले यस सिमेन्टको उपयोगिता, उचित प्रयोग तथा विशेषताको साथसाथै सिमेन्टको उत्पादन प्लान्टमा प्रयोग गरिएका प्रविधिहरुका बारेमा जानकारी दिएका थिए । उनले संसारकै सर्वोत्कृष्ट युरोपेली प्रविधियुक्त प्रक्रियाद्वारा उत्पादित उक्त सिमेन्टको गुणस्तरमा जोड दिनुभयो । उनले थप प्लान्टमा प्रयोग गरिएको भर्टिकल रोलर मिल (भीआरएम), एफएल स्मिथको रोबो ल्याब सिस्टम, सेन्ट्रल कन्ट्रोल रुम टेक्नोलोजी तथा नेपालमा पहिलो पटक प्रयोग गरिएको लेजर सिल प्याकेजिङ लगायतका विभिन्न प्रविधिहरुका बारेमा विस्तृत जानकारी दिएका थिए ।

निर्माणकर्मी तथा निर्माण व्यवसायीहरुको उत्साहजनक सहभागिता रहेको यस कार्यक्रममा आयोजक समूहले उपस्थित सहभागीहरुसँग अन्तरक्रिया गर्नुको साथै उनीहरुको लागि विभिन्न रमाइलो खेल लगायतका मनोरञ्जनात्मक प्रस्तुति पनि पेश गरेका थिए । आयोजक कम्पनीले यस किसिमका अन्तरक्रियात्मक कार्यक्रमहरु आगामी दिनहरुमा पुनː आयोजना गर्ने जानकारी दिएको छ ।

