लेवल्सले शुरु गर्यो अनलाइन प्लेटफर्म, एडिडास, लिभाइज र रिबोकका सामान अब अनलाइनबाटै |
काठमाडौं । एडिडास, लिभाइज, रिबोक र फिटबिट ब्राण्डको अधिकृत विक्रेता लेवल्स स्टोर प्राइभेट लिमिटेडले अनलाइनमार्फत उत्पादन विक्री शुरु गरेको छ ।
ग्राहकले सहजै ब्राण्डेड सामान खरिद गर्न सक्ने वातावरण सिर्जना गर्ने उद्धेश्यले डिजिटल प्लेटफर्म शुरु गरेको कम्पनीका प्रवन्ध निर्देशक सञ्जीब तुलाधरले बताए । ‘विश्वव्यापी रुपमा अनलाइन ट्रेन्ड शुरु भइसकेको छ । हामीले विक्री गर्दै आएको ब्राण्डेड सामान सहजै ग्राहक समक्ष पुर्याउने उदेश्यले लेवल्सको अनलाइन साइट संचालनमा ल्याइएको हो ।’ प्रवन्ध निर्देशक तुलाधरले भने ।
केही महिना भित्र लेवल्सको मोवाइल एप संचालनमा ल्याउन लागिएको कम्पनीकी बजार अधिकृत स्नेहा केयलले बताइन् । कम्पनीका अनुसार शुरुमा मुलुकका २२ वटा मुख्य शहरमा डेलिभरी सुविधा दिइएको छ । निकट भविष्यमा मुलुकको सबै क्षेत्रमा डेलिभरीको सुविधा दिइने योजना रहेको कम्पनीले बताएको छ ।
कम्पनीको आधिकारीक साइटबाट सामान खरिद गर्ने काठमाडौं भित्रका ग्राहकलाई डेलिभरी चार्ज एक सय रुपैयाँ र काठमाडौं बाहिरका ग्राहकका लागिअधिक्तम दुई सय पचास रुपैयाँ डेलिभरी चार्ज राखिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार डिजिटल प्लेटफर्म शुरु भएको दुई महिना अवधिसम्म ग्राहकले डेलिभरी चार्ज रहित अनलाइनमार्फत सामान खरिद गर्न सक्नेछन् । प्ल्याटफर्ममार्फत सामान खरिद गर्ने नियमीत ग्राहकहरुको लागि राखिएको ‘लेवल्स क्वाइन’का माध्यमबाट ग्राहकहरुले हरेक खरिदमा छुट सहित आकर्षक अफर पाउन सक्ने कम्पनीले जनाएको छ ।
१८ वर्षदेखि ब्राण्डेड जुत्ता विक्री गर्दै आएको कम्पनीको काठमाडौंभर १३ वटा आउटलेट रहेका छन् ।


