झण्डाचुलीमा राष्ट्रिय झण्डा फहराउँदै नयाँ पदमार्ग अध्ययनको घोषणा |
काठमाडौं । महाभारत पर्वत श्रृङ्खला अन्तर्गत धादिङ र मकवानपुरको सिमा क्षेत्रमा रहेको झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै नयाँ पदमार्ग अध्ययनको घोषणा गरिएको छ ।
नयाँ वर्षको पहिलो दिन बैशाख १ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कंडेलद्वारा थाक्रे गाउँपालिका वडा नं. ३ मा रहेको झण्डाचुलीको चुचुरोमा झण्डोत्तलन गर्दै १५ मिटर अग्लो पोलमा नेपालको राष्ट्रिय झण्डा स्थापना गरिएको हो ।
पर्यटनको प्रच्युर संभावना बोकेको भूमिचुली क्षेत्रको सबै भन्दा अग्लो झण्डाचुलीमा २०३२ सालतिर नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो । इतिहासलाई स्मरण गर्दै पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले भूमिचुली क्षेत्र पर्यटन प्रवद्र्धन नागरिक अभियानको आयोजनामा झण्डा स्थापना गरिएको हो ।
मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे र गल्छी गाउँपालिकाको संगमस्थल झण्डाचुलीलाई केन्द्रित गरी एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्न आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कंडेलले बताए ।
ऐतिहासिक, प्राकृतिक, धार्मिक, साँस्कृतिक महत्व बोकेको यस क्षेत्रमा एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्दा छिटो समृद्धि हासिल हुने भएकाले आफुले यस क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

