ओरियन्टल सहकारीका सञ्चालक १४ करोड ठगी गरेको आरोपमा पक्राउ |
काठमाडौं । भक्तपुर, काठमाडौं र स्याङ्जा जिल्ला अदालत तथा उच्च अदालत पाटनमा दर्जनौं मुद्दा विचारधीन अवस्थामा रहेका ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत फेरि पक्राउ परेका छन् । उनलाई प्रहरी परिसरबाट खटिएको टोलीले काठमाडौंको भीमसेनगोलास्थित उनको आफ्नै घरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बस्नेतले १४ करोड ठगी गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा सरकारले उनलाई पक्राउ गर्न आदेश दिएपछि पक्राउ गरिएको हो । सहकारी ऐन २०७४ अनुसार उनलाई पक्राउ गरिएको हो ।
यसअघि ओरियन्टल सहकारी संस्थालगायत विभिन्न कम्पनीका नाममा १ अर्ब ६० करोडभन्दा बढी ठगी गरेको आरोपमा थुनामा परिसकेका बस्नेतलाई गत जेठमा भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो ।
निक्षेप ठगी आरोपमा २०७३ साल पुस १३ गते काठमाडौं र भक्तपुर जिल्ला अदालतले उनलाई जेल सजाय सुनाएको थियो । काठमाडौं जिल्ला अदालतले २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार जरिवाना र सोही प्रकृतिको अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो ।
त्यसैगरी, भक्तपुर जिल्ला अदालतले पनि २ वर्ष कैद र ८४ हजार जरिवानाको फैसला सुनाएको थियो ।
Visited 1 times, 1 visit(s) today


