आर्थिक वृद्धिदर १०.३ प्रतिशत पुर्याउने लक्ष्यसहितको पञ्चवर्षीय आधारपत्र पारित |
काठमाडौं । राष्ट्रिय योजना आयोगले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउने रणनीतिका साथ तयार पारेको पञ्चवर्षीय आधारपत्र पारित भएको छ । काठमाडौंमा दुई दिनसम्म चलेको विकास परिषदको बैठकले आयोगले तयार पारेको १५औं पञ्चवर्षीय योजना पारित गरेको हो ।
बैठकमा आयोगले तयार पारेको आर्थिक वर्ष (आव) ०७६०७७ देखि ०८००८१ सम्मको विकास रणनीतिको मस्यौदामाथि विस्तृत रूपमा छलफल भएको थियो । आधारपत्रमा हाल ५ दशमलव ९ प्रतिशत रहेको आर्थिक वृद्धिदर आगामी ५ वर्षमा बढेर १० दशमलव ३ पुर्याउने लक्ष्य निर्धारण गरिएको छ ।
त्यसैगरी, बहुआयामिक गरिबीको दरलाई पाँच वर्षमा १४ प्रतिशतमा झार्ने लक्ष्य उक्त आधारपत्रमा उल्लेख छ । हाल बहुआयामिक गरिबीको दर २८ दशमलव ६ प्रतिशत रहेको छ ।
त्यस्तै, ११ दशमलब ४ प्रतिशत रहेको बेरोजगारको दरलाई २०८१ सम्ममा ४ प्रतिशतमा झारिने, १० हजार ७४ मेगावाट विद्युत् उत्पादनलाई ५ हजार मेगावाट पुर्याउनेलगायत ३३ वटा सूचकको लक्ष्य निर्धारण गरिएको छ ।
उक्त आधारपत्रमा आगामी पाँच वर्षलाई समृद्धि र सुखको आधार वर्षका रूपमा व्याख्या गरिएको छ । पाँच वर्षमा समृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिस्कृत जीवनसहितको समाजवाद उन्मुख लोकल्याणकारी राज्यको रूपमा रुपान्तरण गर्दै उच्च आयस्तर भएको मुलुकमा नेपाल स्तरोन्नति हुने आधार तयार पार्ने योजना उक्त आधारपत्रमा छ ।
आठ महिनाअघि तयार पारिएको उक्त आधारपत्रको मस्यौदा विकास परिषद बैठकले पारित गरेसँगै अब मन्त्रिपरिषदमा पेश गरिनेछ ।
Visited 1 times, 1 visit(s) today


