नेपाल एग्रो लघुवित्तको एक लाख ६१ हजार कित्ता आईपीओ आउने |
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले एक करोड ६१ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएको छ । संस्थाले सर्वसाधारण तर्फको ३२.५० प्रतिशत अर्थात एक लाख ६१ हजार ७७८ कित्ता प्राथमिक शेयर निष्काशन गर्नेछ ।
संस्थाले धितोपत्र निष्काशन तथा विक्री प्रवन्धकको लागि नेपाल एसबीआई मर्चेन्टलाई नियुक्त गरेको छ । संस्थाको हालको चुक्ता पूँजी तीन करोड ३६ लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी चार करोड ९७ लाख रुपैयाँ पुग्नेछ ।
दुई वर्ष अगाडि स्थापना भएको संस्था चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकबाट नाफा देखिन थालेको छ । संस्थाले पुससम्ममा ७२ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
संस्थाको प्रमुख कार्यकारी अधिकृतमा तेजेन्द्र शर्मा लम्साल छन् भने अध्यक्षमा रमेशकुमार कर्माचार्य रहेका छन् । संस्थाले हाल २६ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा सञ्चालन गर्दै आएको छ । निक्षेप संकलन, कर्जा लगानी र रेमिट्यान्सको सेवा प्रदान गर्दै आएको छ ।

