उवामहासंघले हावाहुरीपीडितलाई ५० लाख सहयोग गर्ने | चेम्बरले पनि त्रिपाल, टेन्ट र खाद्यान्न तत्काल उपलब्ध गराउने
काठमाडौं । हिजो आइतवार आएको हावाहुरीपीडितका लागि नेपाल उद्योग वाणिज्य महासंघले रू. ५० लाख सहयोग गर्ने घोषणा गरेको छ । महासंघको आज सोमवार बसेको आकस्मिक बैठकले उक्त रकमबराबरको कोष खडा गरेर बारा र पर्साका हावाहुरीपीडितका लागि राहत वितरण गर्ने घोषणा गरिएको महासंघकी अध्यक्ष भवानी राणाले बताएकी हुन् ।
बैठकले प्रभावित क्षेत्रमा मानवीय सहायतासँगै खाद्यान्न, त्रिपाल, टेन्टलगायतका अत्यावश्यक राहत सामग्री भने तत्काल नै वितरण गर्न शुरू गर्ने निर्णय गरेको महासंघले बताएको छ । महासंघका वरिष्ठ उपाध्यष शेखर गोल्छाका अनुसार प्रदेश नम्बर २ तथा बारा र पर्साका जिल्लाका उद्योग वाणिज्य संघमार्फत राहत वितरण गर्ने तयारी गरिएको छ ।
हिजो राति आएको हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति भएको छ । समाचारमा ३१ जनाको ज्यान गएको उल्लेख गरिए पनि गृह मन्त्रालयले २७ जना मृतकको सनाखत भएको जानकारी दिएको छ । उक्त हावाहुरीबाट ५ सय भन्दा बढी घाइते भएका छन् । हावाहुरीका कारण घर उजाडिएकाहरू राहतको आशामा खुला आकाशमुनि पर्खिरहेका छन् ।
नेपाल चेम्बरु अफ कमर्शले पनि सहयोग गर्ने
यता नेपाल चेम्बर अफ कमर्शले पनि हावाहुरीपीडितलाई सहयोग गर्ने भएको छ । चेम्बरकोे आज सोमवार बसेको बैठकले ती पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, टेन्ट र खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ ।
चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले तराईमा परेको विपत्तिप्रति दुःख व्यक्त गर्दै तत्कालै राहत सामग्री उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन् ।

