२० हजारको संख्यामा लोक सेवा खोल्ने तयारी गर्दै सरकार |
काठमाडौं । सरकारले संघ, प्रदेश र स्थानीय गरी तीनै तहमा झण्डै २० हजारको संख्यामा लोकसेवा खुलाउने गृहकार्य अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले हिजो बिहीवार समायोजन प्रक्रिया सम्पन्न भएको घोषणा गर्दै त्यस्तो जानकारी दिएका हुन् । तर, कुन तहमा कति संख्यामा भर्ना खुल्ने भन्ने कुराको निक्र्योल भने सरकारले अझै गर्न सकेको छैन ।
उनले यही चैतको अन्तिम सातासम्ममा लोकसेवा खुलाउने कार्यले मूर्त रूप पाउने स्पष्ट पारे । सरकारी पक्ष लामो समयसम्म कर्मचारी समायोजनमा अल्झिँदा लोकसेवाको परीक्षा अवरुद्द हुँदै आएको थियो । उनले भने, ‘हामीले संघीयता कार्यान्वयनको एउटा महत्वपूर्ण चरण पूरा गरेका छौं, अब सबै पदमा लोकसेवा परीक्षाको बाटो खुला भएको छ ।’
१ लाख ३१ जना कर्मचारीको समायोजन
सो अवसरमा उनले तीनवटै तहमा गरेर १ लाख ३१ जना कर्मचारीको समायोजन गरिएको बताए । उनका अनुसार संघमा स्वीकृत ४८ हजार ४०९ दरबन्दीमा ३९ हजार ९६० कर्मचारी समायोजन भएका छन् । त्यस्तै, स्थानीय तहमा स्वीकृत ६६ हजार ९०८ दरबन्दीमध्ये ४३ हजार ८०७ र प्रदेशमा स्वीकृत २२ हजार २९७ मध्ये १३ हजार ८२१ कर्मचारी समायोजन भएका छन् ।
Visited 1 times, 1 visit(s) today


