फरार पूर्वमन्त्री न्यौपाने रू. ५ लाख धरौटी बुझाएर छुटे |
काठमाडौं । भृकुटीमण्डप फन पार्कको जग्गा भाडा प्रकरणमा मुछिएका पूर्वमन्त्री बद्री न्यौपाने विशेष अदालतमा ५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको ३ सदस्यीय संयुक्त इजलासले फरार रहेका उनलाई ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएपछि उक्त धरौटीबापतको रकम आज बुधवार बुझाएपछि छुटेका हुन् ।
उनी महिला, बालबालिका तथा समाज कल्याणमन्त्री हुँदा उक्त जग्गाको भाडामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले उनीसहित १४ जनाविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ २० पैसाको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । समाज कल्याण परिषदले प्रचलित मापदण्ड र प्रक्रियाविपरीत भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ ।



