बारम्बार मिल बिग्रिनाले नवलपरासीका उखु किसानलाई २० करोड घाटा | खेतमै सुक्यो उखु, यस वर्ष जीवनयापन गर्न मुश्किल हुने भो : उखु किसान
नवलपरासी । नवलपरासी जिल्लाका उखु किसानले यस वर्ष झण्डै २० करोड रुपैयाँबराबरको घाटा बेहोर्न बाध्य भएका छन् । डेढ महिना ढिलो सञ्चालनमा आएको मिल बारम्बार बिग्रिने समस्याले गर्दा उखु क्रसिङमा ढिलाइ भएर उखु खेत र मिलमा सुकेर किसानहरूले उक्त रकम बराबरको घाटा ब्यहोर्नुपरेको हो ।
गत फागुन महिनामै उखु क्रसिङ सिजन सकिए पनि अझै ५० प्रतिशत किसानले पूर्जी नपाएका कारण खेतको उखु काट्न सकेका छैनन् । हालसम्म कुल उखुमध्ये करिब ५० प्रतिशत मात्र क्रसिङ सकिएको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए । उनका अनुसार जिल्लामा कुल साढे ७ हेक्टर क्षेत्रफलमा उखु खेती गरिन्छ र यसबाट वार्षिक १८ लाख क्विन्टल उखु उत्पादन हुने गरेको छ । उखु खेतीमा १४ हजार घरधुरी आवद्ध छन् ।
अध्यक्ष यादवले भने, ‘यस पटक मिल ढिलो सञ्चालन भएकाले खेतमा उखु थन्किदा ५० प्रतिशत उखुमा १० प्रतिशत वजन सुकेर ह्रास भएको छ । यसरी ह्रास हुँदा ९० हजार क्वीन्टल उखुको वजन ह्रास हुन्छ । यसबाट किसानहरूलाई ५३६ रुपैयाँ प्रतिक्वीन्टलको दरले कुल ४ करोड ८२ लाख ४० हजार रुपैयाँ घाटा लाग्छ ।’
यता, सिजनमै उखु क्रसिङ हुन नसकेको ५० प्रतिशत उखुमा ३० प्रतिशत वजन र्हास भएको उनले बताए । उनका अनुसार ५० प्रतिशत उखुमा ३० प्रतिशत र्हासले २ लाख ७० हजार क्वीन्टल वजन र्हास भएको छ, यसबाट किसानलाई १४ करोड ४७ लाख २० हजार रुपैयाँ घाटा हुन्छ । यसरी यो सिजनमा कुल १९ करोड २९ लाख ९६ हजार रुपैयाँबराबरको घाटा किसानले बेहोुर्नपर्ने देखिन्छ ।
उखु किसान युवराज मौर्यले भने, ‘मिल सञ्चालनमा समयमै कसैको पनि ध्यान नजाँदा हामीले यसरी घाटा सहनुपर्यो । मिल सञ्चालनसम्बन्धमा पहल न त जिल्ला प्रशासनले नै गर्यो, न त सरकारले नै । यो वर्ष पनि उखु खेतमै फुलेर सुक्यो । अझै किसानले पूर्जी पाएका छैनन् । करौडौँ रुपैयाँ घाटा भइसक्यो ।’ उनले भने, ‘उखु मिलको गेटमा क्रसिङका लागि हप्तौं भइसक्यो लाइनमा राखेको, अझै पूर्जसमेत पाएका छैनौं । गरिब किसानले घर व्यवहार चलाउन १ सय ६० रुपैयाँ प्रतिक्विन्टल उखु भेली क्रसरलाई दिन बाध्य भएका छन् ।’
उखु किसानहरूले उखु खेती समयमै उठाएर उक्त खेतमा गहुँ र मुसुरो बाली लगाउने गर्दछन् । तर, यस वर्ष मिलका कारण क्रसिङ हुन नसक्दा गहुँ, मसुरो, तोरी र केराउको खेती लगाउनसमेतबाट किसानहरू वञ्चित भएका छन् । त्यसैले पनि यो वर्ष जीवनयापन गर्न मुश्किल हुने गुनासो किसानहरूले गरेका छन् ।



