किष्ट मेडिकल कलेजको लापरवाही : कुनै उत्तरपुस्तिकाको पाना छैन, कुनैमा थप कापी टाँसेको जस्तो देखिन्छ |
काठमाडौं । किष्ट मेडिकल कलेजको परीक्षामा चरम लापरवाही भएको खुलासा भएको छ । विवादास्पद उक्त कलेजको परीक्षाको उत्तरपुस्तिकाको पाना हराएको जस्तो, थप पाना टाँसेको जस्तो र परीक्षकको हस्ताक्षरसमेत नभएको विद्यार्थीको उत्तरपुस्तिका फेला परेको शिक्षा मन्त्रालयले जानकारी दिएको हो ।
आज आइतवार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले यसरी चरम लापरवाही भएको जानकारी दिएका हुन् । उनले भने, ‘उत्तरपुस्तिकाहरूमा एकरुपता छैन । कुनै उत्तरपुस्तिकामा पाना हराएको जस्तो पनि देखिन्छ । कुनैमा परीक्षकको हस्ताक्षर छैन, कुनैमा थप कापी टाँसेको जस्तो देखिन्छ ।’
सहसचिव डा. लम्सालका अनुसार त्यसबारेमा मेडिकल विज्ञहरूले पनि औपचारिक रूपमा बोल्न मानेनन् । उनले भने, ‘विज्ञलाई भन्दा औपचारिक रूपमा बोल्न कोही मान्दैनन्, यो आईओएमले हेर्नुपर्ने देखियो ।’ उनले भने, ‘उक्त कलेजले विद्यार्थीहरूबाट लिने शुल्कको विवरणसमेत उपलब्ध गराएको छैन । कलेजसँग विद्यार्थीहरूले पैसा तिरेको रसिदसमेत रहेनछ । किन छैन भन्ने प्रश्नमा कलेज सञ्चालक हाम्रो प्रावधान नै छैन भन्छन् ।’
कलेजको आन्तरिक स्रोतले १ लाखभन्दा बढी लिएको बताए पनि बाहिर हल्लाचाहिँ त्योभन्दा पनि बढी लिएको सुनिन्छ । सो मेडिकल कलेजमा भएको अनियमितताको विषयमा जाँचबुझ नगरीकन निष्कर्षमा नपुगिने उनको भनाइ छ ।



