२ सय ६८ रोजगार संयोजकका लागि १० हजारको आवेदन |
काठमाडौं । सरकारले गत फागुन ३० गतेदेखि आवेदन माग गरेको रिक्त २ सय ६८ रोजगार संयोजक पदका लागि ९ हजार ८ सय ७४ दर्खास्त परेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक स्थानीय तहअन्तर्गत सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रही कामकाज गर्ने गरी करारमा पदपूर्ति गर्ने प्रयोजनका लागि उक्त दर्खास्त आह्वान गरेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका अनुसार हालसम्म प्रदेश नं १ बाट २ हजार २ सय ५९, प्रदेश नं २ बाट १ हजार ४ सय २२, प्रदेश नं ३ बाट २ हजार १ सय २०, गण्डकी प्रदेशबाट ६ सय ३२, कर्णाली प्रदेशबाट १ हजार ८ सय ९७ र सुदूरपश्चिमबाट १ हजार ५ सय ४४ जनाको दर्खास्त परेको प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ ।
श्रम मन्त्रालयले १० दिनभित्र प्राप्त दर्खास्तमध्येबाट स्वचालित कम्प्युटर प्रणालीबाट रिक्त पद संख्याको तीन गुणा बराबर आवेदकको योग्यता क्रमको प्रारम्भिक सूची प्रकाशन गरिने बताएको छ । प्रारम्भिक छनोटमा परेको व्यक्तिबाट कम्प्युटर प्रणालीबाट परीक्षा लिइनेछ ।
परीक्षा उत्तीर्ण हुने रोजगार संयोजकले स्थानीय तहमा स्थापना गरिएको रोजगार सेवा केन्द्रबाट बेरोजगार व्यक्तिको सूची संकलन गरी उनीहरूलाई रोजगारीको अवसरसँग जोड्नेछन् ।



