बुटवलका दुई विकास बैंक मर्ज हुँदै | राष्ट्रियस्तरको विकास बैंक बन्ने, अध्यक्षमा टीकाराम घिमिरे र सीईओमा प्रदीपकुमार श्रेष्ठ
काठमाडौं । बुटवलका दुई विकास बैंक गाभिने भएका छन् । तिनाउ विकास बैंक र मिशन डेभलपमेण्ट बैंक बराबरी शेयर हैसियतमा गाभिने भएका हुन् । दुवै बैंक मर्ज गर्नेसम्बन्धी सम्झौतापत्रमा हिजो आइतवार हस्ताक्षर भएको हो ।
मर्जरपछि बैंकको नाम ‘तिनाउ मिशन डेभलपमेण्ट बैंक लिमिटेड’ रहने तथा केन्द्रीय कार्यालय पहिलेको तिनाउ विकास बैंकको भवन रहेको स्थान बुटवल ४, पाल्पा रोडमा रहने भएको छ ।
दुवै बैंक गाभिएपछि हकप्रद शेयर जारी गरिनेछ । मर्जरपछि राष्ट्रियस्तरको विकास बैंक बन्ने दुवै बैंकले बताएका छन् । मर्जरपछिको तिनाउ विकास बैंकको चुक्ता पूँजी १ अर्ब १४ करोड रुपैयाँ पुग्नेछ । निक्षेप १० अर्ब १२ करोड र ऋण ८ अर्ब ८३ करोड पुग्नेछ ।
मर्जरपछि बैंकको अध्यक्षमा अहिलेको मिशन डेभलपमेण्ट बैंकका अध्यक्ष टीकाराम घिमिरेले निरन्तरता पाउने बताइएको छ । प्रमुख कार्यकारी अधिकृतमा तिनाउ विकास बैंककै प्रदीपकुमार श्रेष्ठ र नायव प्रमुख कार्यकारी अधिकृतमा मिशन डेभलपमेण्ट बैंकका हरिप्रसाद घिमिरे रहने बताइएको छ । दुई बैंक मर्जर भएपछि शाखा कार्यालय संख्या ३७ पुग्नेछ ।



