४२ स्थानीय तहमा अझै बैंकका शाखा पुग्न सकेनन्, ७ सय ११ तहमा मात्रै बैंकका शाखा कार्यालय |
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महीनाको आर्थिक विवरणअनुसार ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ११ तहमा मात्रै बैंकका शाखा कार्यालय पुगेका छन् । मुलुकभरका कूल ४२ वटा स्थानीय तहमा अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् ।
सरकारले वित्तीय पहुँच पुर्याउने लक्ष्यका साथ सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउने लक्ष्य राखेको भए पनि अझै शाखा पुग्न नसकेका हुन् । सरकारले स्थानीय तहमा नै बैंकका शाखा पुर्याई वित्तीय पहुँच पुर्याउने र हरेक नेपालीको एक बैंक खाता खोल्न अभियान नै सञ्चालन गरिरहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंकका शाखा पुर्याएर वित्तीय पहुँच पुर्याउने लक्ष्य राखिएको छ ।
बैंकको विवरणअनुसार प्रदेश नं १ का कूल १ सय ३७ स्थानीय तहमध्ये गत माघ मसान्तसम्म मात्रै १ सय २९ बैंकका शाखा खुलेका छन् । यस्तै प्रदेश नं २ का १ सय ३६ स्थानीय तहमध्ये १ सय ३३ वटामा शाखा खुलेका छन् । सो प्रदेशमा तीन वटा स्थानीय तहमा मात्रै पुग्न बाँकी छन् । प्रदेश नं ३ का १ सय १९ स्थानीय तहमध्ये १ सय १४ वटा शाखा खुलेका छन् । सो प्रदेशमा अझै चार वटा स्थानीय तह वित्तीय पहुँचबाट टाढा रहेका छन् । गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये हालसम्म ८२ वटा, प्रदेश नं ५ का १०९ स्थानीय तहमध्ये १०७ वटा बैंकका शाखा खुलेका छन् ।
कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ६४ वटामा बैंकका शाखा पुगेका छन् । सुदूरपश्चिमको ८८ स्थानीय तहमध्ये ८२ वटामा बैंकका शाखा खुलेका छन् । अझै छ वटा स्थानीय तहमा बैंकका शाखा नखुल्दा वित्तीय पहुँच पुग्न सकेको छैन । देशभर नै बैंक तथा वित्तीय संस्थाका शाखा माघ मसान्तमा सात हजार ७ सय ३१ वटा पुगेका छन् । त्यस्ता शाखा सङ्ख्या गत असार मसान्तमा छ हजार ६ सय ५१ रहेका थिए ।
केन्द्रीय बैंकको इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत असार मसान्तमा १५१ रहेकामा माघ मसान्तमा बढेर १५७ पुगेका छन् । यस्तै माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्था गाभ्नेरगाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढ्दा १६४ वटा बैंक तथा वित्तीय संस्था सो प्रक्रियामा समावेश भएका छन् । त्यसमध्ये १२२ वटा संस्थाको इजाजत खारेज भई ४२ संस्था कायम भएका छन् ।

