१७ वाणिज्य बैंकहरुले घटाए ब्याजदर, एनआईसी एशियाले भने बढायो
काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले चैत महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । एनआइसी एसिया बैंकले ब्याजदर बढाएको छ भने ग्लोबल आइएमई र प्रभु बैंकले फागुन महिनाकै ब्याजदर यथावत राखेका छन् । अरुले भने ब्याजदर घटाएका छन् ।
बैंकहरुले मुद्दति निक्षेपमा दिने अधिकतम ब्याजदरमात्र यहाँ प्रस्तुत गरिएको हो । विभिन्न शीर्षक अनुसार विभिन्न किसिमका ब्याजदर तोकिएका छन् । यसका लागि लगानीकर्ता तथा ऋणीले सम्बन्धित बैंकको सूचना हेर्ने वा बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ ।
पछिल्ला महिनाहरुमा बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाइरहेका छन् । अहिले मुद्दति निक्षेपको ब्याजदर निकै तल आएको छ । निक्षेपको ब्याजदर घटेपनि कर्जाको ब्याजदर अझै उच्च भएको व्यवसायिहरुले बताउँदै आएका छन् ।
उच्च ब्याजदर र अर्थतन्त्रमा आएको सुस्तताको कारण कर्जा प्रवाह हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । उक्त तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई हम्मेहम्मे परेको छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । यसैकारण बैंकहरुले ब्याजदर घटाएर भए पनि कर्जा प्रवाह बढाउने रणनीति लिएका हुन् । सिद्धान्ततः निक्षेपको ब्याजदर घटेपछि बेस रेट पनि कम हुँदै जान्छ । त्यसको फाइदा ऋणीले पाउँछन् ।
बैंकहरूले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर
| बैंक | फागुनको ब्याजदर | चैतको ब्याजदर |
| कृषि विकास | ६.४४३ | ५.६६ |
| एभरेष्ट | ८ | ६.५ |
| नेपाल | ७.२५ | ७ |
| लक्ष्मी सनराइज | ८ | ७.५ |
| माछापुच्छ्रे | ८ | ७.७५ |
| एनआईसी एसिया | ८ | ८.५४८ |
| प्रभु | ७.५ | ७.५ |
| स्टान्डर्ड चार्टर्ड | ७.३५ | ७ |
| राष्ट्रिय वाणिज्य | ७.३५ | ७ |
| नबिल | ७.७५ | ७.२५ |
| ग्लोबल आईएमई | ७.६ | ७.६ |
| सिद्धार्थ | ८ | ७.५ |
| प्राइम कमर्सियल | ७.४ | ७.२५ |
| कुमारी | ८.०१ | ७.५१ |
| सानिमा | ७.५१ | ७.२५ |
| हिमालयन | ८.१५ | ७.५ |
| नेपाल एसबीआई | ८.१ | ७.०१ |
| नेपाल इन्भेष्टमेन्ट | ८ | ७ |
| एनएमबी | ८.५ | ७ |
| सिटिजन्स | ८.२५ | ७.७५ |
