ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स प्राप्ती गर्दै, चुक्ता पुँजी बढेर १० अर्ब ६१ करोड रुपैयाँ पुग्ने |
काठमाडौं । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई एक्वीजिसन गर्ने भएको छ । फाइनान्सलाई प्राप्ती गर्ने विषयमा बिहीबार दुबै बैंक तथा वित्तीय संस्थाबीच सम्झौता भएको छ । तीनवटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गरिरहेको हाथवे फाइनान्सले सबल बैंकिङ सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंक सँग गाभिने तयारी गरेको हो ।
दुई बैंक तथा वित्तीय संस्थाले डीडीए गरेरपछि प्राप्त हुने स्वाप रेसियोका आधारमा अगाडि बढ्ने जानकारी दिएका छन् । एमओयु सम्झौता भएसँगै आइतबारबाट दोस्रो बजारमा हाथवे फाइनान्सको शेयर कारोबार रोक्का हुनेछ ।
दोस्रो बजारमा हाथवे फाइनान्सको शेयर मूल्य ११६ रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा संस्थाको शेयर मूल्य अधिकतम १६५ रुपैयाँ र न्युनतम १०४ रुपैयाँको बीचमा कारोबार भएको थियो ।
ग्लोबल आइएमई बैंकको हालको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । बराबरी हैसियतमा गाभिएको खण्डमा मात्रै बैंकको चुक्ता पुँजी १० अर्ब ६१ करोड रुपैयाँ पुग्नेछ ।

