नेपालय एजुकेशन फाउण्डेशनको ३५औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न | उत्कृष्ट अभिभावकलाई गरियो सम्मान, उत्कृष्ट विद्यार्थी र शिक्षक पनि पुरस्कृत
काठमाडौं । उच्च गुणस्तरीय र व्यावसायिक शिक्षा प्रदान गर्दै आएको काठमाडौं महानगरपालिका– १४, कलंकीस्थित नेपालय एजुकेशन फाउण्डेशनले हालै आफ्नो ३५औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ । उक्त वार्षिकोत्सव समारोहको उद्घाटन प्रमुख अथिति एवम् रेडियो नेपालका चर्चित कार्यक्रम प्रस्तोता डा। नवराज लम्सालले गरेका हुन् ।
सो अवसरमा प्रमुख अथिति डा। लम्सालले नेपालय एजुकेशन फाउण्डेशनका विद्यार्थीहरूको प्रस्तुतिमा राष्ट्रियताको भावना, नेपालको विविध सांस्कृतिक पक्ष र विद्यालयको मौलिकता प्रष्ट रूपमा देखिएको भन्दै प्रशंसा गरे । नेपालीले सबैभन्दा पहिला नेपाललाई माया गर्नुपर्ने, दोस्रोमा बुबाआमालाई र तेस्रोमा शिक्षकशिक्षिकालाई माया गर्नुपर्ने डा. लम्सालको भनाइ थियो ।

जिल्ला शिक्षा कार्यालय काठमाडौंका विद्यालय निरीक्षक बुद्धि भट्टले नेपालय एजुकेशन फाउण्डेशन नेपालका राम्रा विद्यालयहरूमध्येमा पर्ने बताउँदै उच्च गुणस्तरीय र व्यावसायिक शिक्षा प्रदान गरेर उक्त निजी विद्यालयले शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याएको बताए । उनले भने, ‘स्कूल तथा कलेजले दिने शिक्षा केवल प्रमाणपत्रका लागि मात्र नभई व्यावहारिक ज्ञानका लागि हुनुपर्छ ।’
वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा फाउण्डेशनले वर्षभरि विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । कलंकीस्थित शिखर पार्टी प्यालेसमा आयोजना गरिएको उक्त कार्यक्रममा फाउण्डेशनका विद्यार्थीहरूले मनोरञ्जनात्मक विभिन्न सांस्कृतिक प्रस्तुति पस्केका थिए ।

नेपालका विभिन्न क्षेत्रको संस्कृति र परम्परा झल्कने गीत, नृत्य, नाटक, जादु, कविता, गजलहरूको उत्कृष्ट प्रस्तुति प्रस्तुत गरिएको उक्त कार्यक्रममा फाउण्डेशनले उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै उत्कृष्ट अभिभावकलाई सम्मानसमेत गर्यो । कार्यक्रममा फाउण्डेशनले स्टुडेन्ट अफ द एयरमा सिनियरतर्फ आस्था पौडेल र जुनियरतर्फ रानु गोपालीलाई पुरस्कृत गरेको छ भने उत्कृष्ट शिक्षकमा कुसहरि मगर पुरस्कृत बन्न सफल भएका छन् । त्यस्तै उत्कृष्ट अभिभावकतर्फ अमिता बलामीलाई सम्मानित गरिएको छ ।
हाल फाउण्डेशनले नर्सरीदेखि मास्टर्स डिग्रीसम्मको शिक्षा प्रदान गर्दै आएको फाउण्डेशनका प्राचार्य मनोज थापामगरले बताए । उनका अनुसार फाउण्डेशनमा हाल नर्सरीदेखि कक्षा १२ सम्म झण्डै १ हजार ५ सय ५०, स्नातक र स्नातकोत्तरमा झण्डै ७ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । सबै तहमा गरी १७५ जना शिक्षकशिक्षिकाहरूले अध्यापन गराइरहेको उक्त फाउण्डेशनमा प्रशासनतर्फ मात्र २१ जना कर्मचारी रहेको प्राचार्य थापामगरले जानकारी दिए ।








