डीआईजीको गाडी ट्राफिक कारबाहीमा, तिरे ५ सय रुपैयाँ |
काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) को गाडी ट्राफिक कारबाहीमा परेको छ । शुक्रवार दिउँसो नर्भिक हस्पिटलअगाडि नो पार्किङमा पार्किङ गरी राखेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले गाडीमाथि कारबाही गरेको हो ।
वायोमेडिकल वैज्ञानिक डा. समीरमणि दीक्षितको ट्वीटरमार्फत उक्त गाडीको तस्वीर सार्वजनिक भएपछि ट्राफिक प्रहरीले गाडी धनीको खोजी गरेको थियो ।
दीक्षितले तस्वीरसँगै क्याप्सनमा लेखेका थिए, ‘आउनुस्, ट्राफिक नियम उल्लंघन गरौं । स्थान ः नर्भिक अस्पतालअगाडि । समयः फोटो खिच्दा १६ः३० बजेको र यो ट्वीट गर्ने समयसम्म पनि त्यहीँ खडा ।’ ट्वीटमा ट्राफिक महाशाखाको ह्याण्डलबाट शुक्रवारै रिप्लाई गरिएको थियो, ‘सूचनाका लागि धन्यवाद । उक्त सवारीचालकलाई हामी चाँडै कारबाही गरी जानकारी गाउँछौं । जय नेपाल !’

स्वयम् दीक्षितले लेखेका थिए, ‘जय नेपाल ! यहाँकै परिवार पर्नुभएछ, गाह्रो भए पनि कारबाही हुन्छ भन्ने विश्वास लिएँ ।’ नभन्दै त्यसको दुई दिनपछि महाशाखाले बा १ झ ६४०८ नम्बर गाडीमाथि कारबाही गरेको प्रमाण सार्वजनिक गरेको छ । महाशाखाले चालक छत्रबहादुर थापाले आज आइतवार दिउँसो १२ः१५ बजे महाशाखामा गएर ५ सय रुपैयाँ जरिवाना रकम तिरेको ग्लोबल आईएमई बैंकको भौचरसमेत ट्राफिकको ट्वीटमा संलग्न छ ।
गाडी कुन डीआईजीले चढ्ने गरेका थिए भन्ने कुरा भने महाशाखाले सार्वजनिक गरेको छैन ।
Visited 1 times, 1 visit(s) today


