चार प्रकारका औषधि मापदण्डविपरीत, उत्पादन र विक्रीवितरणमै रोक | चिकित्सकहरूलाई उपभोगका लागि सिफारिश नगर्न विभागको आग्रह
काठमाडौं । तपाईंलाई पनि डाक्टरले कतै यी औषधि उपभोगका लागि रिफारिश त गरेको छैन ? हेर्नुस् एकचोटि । सरकारले नेपालमा चार प्रकारका औषधि गुणस्तरहीन र मापदण्डविपरीत भएको पत्ता लागेपछि उत्पादन तथा विक्रीवितरणमा रोक लगाएको छ । औषधि व्यवस्था विभागले नेपाली तीन र एक भारतीय कम्पनीले उत्पादन गरेका चार प्रकारका औषधिको उत्पादन र विक्रीवितरणमा रोक लगाएको हो ।
उत्पादनमा रोक लगाइएका औषधिहरू राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड पूरा नभएको पाइएकाले रोक लगाइएको विभागले जानकारी दिएको हो । विभागका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षत्रीका अनुसार विभागले ललितपुरस्थित विजयदीप ल्याबोरेटोरिस लिमिटेडले उत्पादन गर्दै आएको महुमेह जोखिम कम गर्ने भी–मेट ५०० (मेटफोरमिन एचसीएआई ट्याबेलट्स आईपी) का चार ब्याचको उत्पादनमा रोक लगाएको छ ।
त्यसैगरी, वीरगञ्जको एपेक्स फार्मास्युटिकल्स प्रालिको मधुमेट–५०० (मेटफोरमिन हेल ट्याब्लेट आईपी) को एउटा ब्याचको उत्पादनलाई न्यून गुणस्तरको विक्रीवितरण नगर्न निर्देशन दिएको छ । क्षत्रीका अनुसार ती औषधिमाथि थप अनुसन्धान भइरहेको छ । त्यस्तै, बाराको आर्या फर्माल्याब प्रालिका दुई र भारत उत्तराखण्डको यूरोलाइफ हेल्थकेयर प्रालिको एउटा औषधिलाई पनि विक्रीवितरण रोक्का गरी बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले नमूना परीक्षणका क्रममा न्यून गुणस्तरको भएको पत्ता लगाएपछि आर्या फर्माल्याबको पोल्जीज–एनजेड १५ ग्रामका दुई वटा ब्याचको उत्पादन र यूरोलाइफको रिंगर लेक्टेट सोलुसर फर इञ्जेक्सन आईपीको एउटा ब्याचको विक्रीवितरण रोकेको छ ।
साथै, विभागले यी रोक्का गरिएका औषधिहरूको उपभोगका लागि सिफारिश नगर्न पनि चिकित्सकहरूलाई आग्रह गरेको छ । थप अनुसन्धान र परीक्षण भइरहेको र त्यसको नतिजा आएपछि मात्रै प्रतिबन्ध लगाउने या नलगाउने भन्ने निर्णय हुने क्षत्रीले बताए ।



