एचआर मिट फाल्गुण ३० देखि |
काठमाडौं । ग्रोथ सेलर्सले वर्षेनि आयोजना गर्ने मानव संसाधन सम्मेलन (एचआर मिट २०१९) आउँदो फाल्गुण ३० र चैत १ गते आयोजना हुने भएको छ । ‘प्रविधीको युगमा मानव संसाधन’ भन्ने नाराका साथ आयोजना हुने सम्मेलनमा सरकारी, अर्ध सरकारी, गैर सरकारी, एवम् निजीक्षेत्रका विभिन्न संघ संस्थाबाट ३ सय भन्दा बढीको सहभागिता रहने बताइएको छ ।
यसपाली एचआर मिटको १२औं संस्करण आयोजना हुन लागेको हो । सम्मेलनको प्रमुख वक्ताकारुपमा इकम एक्स्प्रेस प्रालिका वरिष्ठ उपाध्यक्ष तथा प्रमुख मानव संसाधन अधिकृत सौरभ दिप सिङ्गला आउने ग्रोथ सेलर्सका अध्यक्ष मोहन ओझाले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । साथै यस दुई–दिने सम्मेलनमा मानव संसाधनका विषयमा आफ्ना सत्रहरु प्रस्ततु गर्नका लागि ख्याती प्राप्त राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ताहरु हुनेछन् ।
नेपालका विभिन्न संस्थाहरुमा १५०० भन्दा बढि मानव संसाधन पेशाकर्मीहरु कार्यरत छन् । यस सम्मेलनमा, सहभागीहरुलाई संबन्ध विस्तार गर्ने अवसर, अनुभवी वक्ताहरुको ज्ञानको साक्षात्कार, रोचक तथ्यहरुको प्रस्तुति र सहभागीताको प्रमाणपत्र प्राप्त हुनेछ ।
त्यसै गरि, आयोजकले सेजोनका सदस्यहरुका विकासका लागि आफ्नो वार्षिक प्रतिवद्धता अनुरुप मानव संसाधन भेलाको शुल्कबाट छुट्याइएको रु २५,००० आर्थिक पत्रकार समाजको खातामा जम्मा गरेको छ ।

