एनसेलमाथिको आक्रमणप्रति एफएनसीसीआईको भत्र्सना, दोषीलाई कानुनी कठघरामा ल्याउन माग |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निजीक्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको टावरलाई लक्षित गरेर भएको आक्रमणको घोर भत्र्सना गरेको छ । महासंघले हिजो आइतवार एक विज्ञप्ति सार्वजनिक गर्दै एनसेलको मुख्यालय र विभिन्न जिल्लामा रहेका उक्त कम्पनीका टावरमाथि भएको आक्रमणको निन्दा गर्दै घटनामा संलग्नलाई कानूनी कठघरामा ल्याउनसमेत सरकारसँग माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्ता घटनाले मुलुकलाई कतातर्फ लैजान्छ, उक्त घटनाप्रति गम्भीर भएर सोच्न महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराउँछ ।’
देशभित्र राजनीतिक स्थिरता कायम भई आर्थिक विकासको मार्गमा देश अगाडि बढ्ने वातावरण बनिरहेको अवस्थामा यस्ता आतंककारी आक्रमणले मुलुकलाई पुनः एकपटक झस्काएको विज्ञप्तिमा उल्लेख छ ।



