पाँचथर पावरको १७ लाख ५० हजार कित्ता साधारण शेयर आउदै |
काठमाडौं । पाँचथर पावर कम्पनीले यही फागुन १३ गते देखि १७ लाख ५० हजार २५० कित्ता साधारण शेयर विक्री गर्ने भएको छ । कम्पनीले एक आह्वानपत्र सार्वजनिक गरी न्यूनतम १० कित्तादेखि अधिकतम नौ हजार ६२० कित्ता बराबरको आवेदन दिन पाउने जानकारी दिएको हो ।
प्रतिकित्ता रु. १०० अङ्कित दरका शेयर यही फागुन १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । सो अवधिमा शेयर विक्री नभएमा आगामी चैत १२ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनीले गत पुस ३० देखि माघ २९ गतेसम्म कूल ९ लाख ६२ हजार ५०० कित्ता आयोजना प्रभावितलाई विक्री गरेको भए पनि सात लाख ८७ हजार ७५० कित्ता शेयर विक्री हुन सकेको थिएन ।
कम्पनीले कर्मचारीलाई ३५ हजार पाँच कित्ता र सामूहिक लगानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयर सर्वसाधारणलाई विक्री गर्नेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी भएका बैंक तथा वित्तीय संस्थाबाट सी आस्वा प्रणालीमार्फत आवदेन दिनसक्ने व्यवस्था गरिएको छ ।
कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । केयर नेपाल रेटिङले गरेको वित्तीय विश्लेषणमा सो कम्पनीको अवस्था औशतभन्दा कमजोर रहेको जनाएको छ । कम्पनीले पाँचथर जिल्लामा १४ दशमलव ९ मेगावाटको ‘हेवाखोला ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।




