छायाँ सेण्टरका सञ्चालकको प्रश्न– ‘हामीले के गल्ती गर्यौं ?’ | आयोजना सकिएपछि नियोजित रूपमा आक्रमण गर्न खोजिएको छ
काठमाडौं । छायाँदेवी कम्प्लेक्स प्रालिले छायाँ सेण्टर निर्माण गर्दा पुरातात्विक क्षेत्रमा अतिक्रमण नगरेको दाबी गरेको छ । पुनरावेदन तथा सर्वोच्च अदालतले जमिनको स्वामित्वको विषयमा आफूहरूको पक्षमा फैसला गरेको उनीहरूको भनाइ छ ।
आज मंगलवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी छायाँ सेण्टरले राज्यले निर्दिष्ट गरेको नियमको अधीनमा रहेर गरिएको अर्बौं रुपैयाँको लगानीमा नियोजित रूपमा आक्रमण थालिएको प्रष्ट पारेको हो ।
छायाँ सेण्टरका सञ्चालकहरूका अनुसार काठमाडौं महानगरपालिकाले २०६९ असोज ११ गते छायाँदेवी कम्प्लेक्सको डीपीसीसम्मको नक्सा पास गरेको थियो । साथै, कम्प्लेक्स निर्माणका लागि सार्वजनिक सुनुवाइसमेत भएकोमा त्यस बेला कसैबाट पनि विवादास्पद विषय निकालिएको थिएन । सोही वर्षको असोज ३१ गते महानगरपालिकाले कम्प्लेक्सलाई स्थायी नक्सापास गरिदिएको थियो ।
छायाँ सेण्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले भने, ‘२०७५ कात्तिक ८ गते काठमाडौं महानगरपालिकाले छायाँदेवी कम्प्लेक्सलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र दिएको थियो । त्यसपछि अरु प्रोजेक्टमा दुःख दिनेहरूजस्तै अहिले छायाँ सेण्टरमा पनि सलबलाइरहेका छन् ।’
पर्यटकीय गन्तव्य ठमेलमा केही समयअघि सञ्चालनमा ल्याइएको उक्त कम्प्लेक्सलाई अहिले गलत प्रचारको शिकार बनाउन खोजिएको प्रबन्ध निर्देशक श्रेष्ठको आरोप छ ।
छायाँ सेण्टर तीन दर्जनभन्दा बढी स्वदेशी लगानीकर्ताको साढे ५ अर्बभन्दा बढी लगानीमा निर्माण सम्पन्न भई गत डिसेम्बर २५ देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । ठूलो लगानीमा सञ्चालनमा आएकै कारण यो कम्प्लेक्सलाई स्वार्थका साथ नकारात्मक प्रचारको उत्कर्षमा पुर्याउन खोजिएको श्रेष्ठ बताउँछन् । उनले भने, ‘ठमेलभित्रको ठमेलका रूपमा आएको ठूलो योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई तीव्र पारिएको छ । पैसा तिरेर जग्गा किनेर प्रोजेक्ट अघि बढाउँदा हामीलाई किन तारो बनाइँदै छ ? भन्ने कुरा यसअघिका केही आयोजनामा भएका घटनाक्रमले पुष्टि गर्छ ।’
कार्यक्रममा वितरण गरिएको विज्ञप्तिमा भनिएको छ, ‘निजीक्षेत्रबाट बनेका ठूला पूर्वाधारहरू निर्माण सम्पन्न भएपछि बखेडा उत्पन्न गरी गलत प्रचार गराइने गरेको पहिलो घटना छायाँ सेण्टरको मात्र हैन । यसअघि पनि ठूला अनि फरक प्रकृतिका आयोजनाहरूलाई केन्द्रमा राखेर गलत प्रचार गराइएका धेरै घटनाहरू छन् । यस्तो प्रचारको शृंखला एउटा विन्दुमा पुगेपछि सामसुम हुने गरेको छ । यसले आयोजना निर्माणपश्चात स्वार्थका साथ सीमित समूहले लगानीकर्तालाई आतंकित पार्न खोजिएको तथ्यलाई चरितार्थ गर्छ ।’
अहिले छायाँ सेण्टरको विषयमा इतिहासका पानाहरूलाई आधार बनाएर तत्कालीन कानुनी व्यवस्थाहरूलाई नै गलत सावित गराउन खेजिनु दुःखद भएको प्रबन्ध निर्देशक श्रेष्ठले बताए । उनले भने, ‘सरकारी निकायबाट पूरा गर्नुपर्ने सबै प्रक्रिया पूरा गरिसकेर निर्माण गरिएको छायाँ सेण्टरलाई एकाएक किन आक्रमण गरिँदै छ ? जग्गा किनेको ६ वर्षपछि कम्प्लेक्स निर्माणको काम थाल्नुपहिले अहिले हल्ला गर्नेहरू किन मौन बसे ? हामीले २ वर्ष लगाएर वातावरणीय प्रभाव मूल्यांकन तथा सार्वजनिक सुनुवाई गरेर छिमेकी तथा साँधसँधियारसँग सम्झौता गरी निर्माण थालिएको आयोजनालाई अहिले धारे हात लगाइनु आश्चर्यको विषय हो । पहिले सिधै चन्दाको विषय आउँथ्यो, अहिले गलत प्रचारबाट स्वार्थ पूरा गराउने समूहहरू हाबी भएको कुरामा दुई मत छैन । समयले त्यस्ता व्यक्तिलाई आफैं परिचित गराउनेमा हामी विश्वस्त छौं ।’
उनले थपे, ‘यसरी नियोजित रूपमा केही व्यक्तिले अघि सारेको स्वार्थको विषयलाई सबै पक्षले किन महत्वका साथ समर्थन गरिरहेका छन् भन्ने कुराले हाम्रो ध्यानाकर्षण भएको छ । कानुनअनुसार निर्माण सम्पन्न भइसकेको र राज्यलाई करोडौं रुपैयाँ राजस्वसमेत तिरेका हामीले पैसा तिरेर जग्गा किनेका हौं । इतिहासका पाना पल्टाउनेहरूलाई हामी प्रश्न गर्छौं कि हाम्रो गल्ती कहाँ भयो ?’



