स्ट्यान्डर्ड चार्टर्डको नाफा ९९ करोड ८१ लाख, प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५९ पैसा |
काठमाडौ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालू आर्थिक वर्ष २०७५÷७६ को दोस्रो त्रैमाससम्ममा करिब १ अर्ब रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा करिब ४ प्रतिशत मात्र नाफा वृद्धि गरेको हो । गत वर्ष ९५ करोड ९४ लाख नाफा कमाएको यो बैंकले यो वर्ष ९९ करोड ८१ लाख रुपैयाँ नाफा गरेको छ ।
यो बैंककले यस अवधिमा व्याज आम्दानीबाट ३ अर्ब १ करोड कमाएको छ भने यसवापतको खर्च १ अर्ब ३६ करोड गरेर कुल व्याज आम्दानी १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।
६५ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५० अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको यो बैंकले गत वर्ष संकलन गरेको निक्षेप ६५ अर्ब ७ करोड थियो ।
यसले गत वर्ष ४२ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । ८ अर्ब १ करोड रुपैयाँ चुत्ता पुँजी रहेको यो बैंकको जगेडा कोषमा ७ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।
बैंकको पुँजी पर्याप्तता अनुपात २२.०३ प्रतिशत, खराब कर्जा अनुपात ०.२० प्रतिशत, आधार ब्याजदर ७.५५ प्रतिशत छ र सीडी रेसियो ७५.८१ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५९ पैसा रहेको यसको प्रति शेयर नेटवर्थ भने १८७ रुपैयाँ ८७ पैसा रहेको छ ।
