जनवरीमा नेपाल आउने पर्यटक ९१ हजार जना, सबैभन्दा धेरै भारतबाट |
काठमाडौं । यो वर्षको पहिलो महिना अर्थात् जनवरीमा ९१ हजार ७९३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार हवाईमार्ग हुँदै ७७ हजार ३ सय जना र १४ हजार ४ सय ९३ जना सडकमार्ग हुँदै नेपाल आएका हुन् । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.५ प्रतिशतले बढी हो ।
उक्त तथ्यांकअनुसार यस अवधिमा नेपाल आउने विदेशी पर्यटकमा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट आएका पाइएको छ । उक्त देशबाट १४ हजार ६ सय ५० जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्यसैगरी दोस्रोमा चीन परेको छ । यो मुलुकबाट १३ हजार ४ सय ८८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

बोर्डका अनुसार गत वर्षको तुलनामा जनवरीमा थाइल्याण्ड, जापान र दक्षिण कोरियाबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या क्रमशः ६९.८ प्रतिशत, ३८ प्रतिशत र ८.४ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी बेलायत, जर्मनी र फ्रान्सलगायत यूरोपेली मुलुकबाट ११ हजार ९ सय ९६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । जनवरीमा बेलायतबाट ४ हजार १३०, जर्मनीबाट एक हजार ५ सय ४९ र फ्रान्सबाट १ हजार ३ सय ७५ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
त्यस्तै, अमेरिकी देशबाट नेपाल आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको पाइएको छ । अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्यामा गतवर्षको सोही अवधिको तुलनामा २८.१ प्रतिशतले वृद्धि भएको छ । अस्ट्रेलियाको पर्यटकको संख्या ३१.३ प्रतिशतले वृद्धि भएको देखिन्छ । जनवरीमा मात्र अमेरिकाबाट ७ हजार २८ पर्यटक नेपाल आएका छन् । अष्ट्रेलियाबाट ३ हजार ५ सय पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा प्रभावकारी रूपमा नेपालको पर्यटनबारे प्रचारप्रसार भएका कारण विदेशी पर्यटक बढ्दो क्रममा रहेको जानकारी दिए ।



