पाचौं नेपाल काष्ठ अन्तरराष्ट्रिय प्रदर्शनी फागुन ३ गतेदेखि | दिग्गज आर्किटेक्ट, इञ्जिनीयर तथा इन्टेरियर डिजाइनरहरूको सहभागिता रहने
काठमाडौं । मिडिया स्पेस सोलुसन्स र फ्यूचर्स ट्रेड फिअर एण्ड इभेन्टको संयुक्त आयोजनामा काठमाडौंमा ‘पाचौं नेपाल काष्ठ अन्तरराष्ट्रिय प्रदर्शनी २०१९’ आगामी फागुन ३ गतेदेखि शुरू हुने भएको छ । विश्वभरका विभिन्न देश सहभागी हुने उक्त प्रदर्शनी काठमाडौंको भृकृटीमण्डपमा हुने भएको हो ।
विभिन्न देशका २०० भन्दा बढी ब्राण्डहरूको प्रदर्शनी रहने उक्त महोत्सवमा १२० भन्दा बढी स्टल रहने आयोजकले जानकारी दिएका छन् ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्ने उक्त मेला तीन दिनसम्म सञ्चालन हुने बताइएको छ । मेलामा फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र विक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूका बारेमा जानकारी पाउन सकिने आयोजकको भनाइ छ ।
यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिका बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी ४ वर्षदेखि आयोजना हुँदै आएको छ । नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने उद्देश्यले उक्त मेलाको आयोजना गरिएको आयोजकले बताएका छन् । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिकबाहेक नेपालका दिग्गज आर्किटेक्ट, इञ्जिनीयर तथा इन्टेरियर डिजाइनरहरूको सहभागिता रहने बताइएको छ ।



